सर्मिला राेकाया,बाजुरा
बाजुराको बुढीनन्दा नगरपालिका–४ कुरुमा स्थानीय सराेकारवालाहरूको सहभागितामा संयुक्त अनुगमन गरिएको छ । टियरफण्ड र आइ.एन.एफ नेपालको साझेदारीमा सञ्चालित “लैङ्गिक उत्थानसिल, प्रकृतिका लागि वातावरण र आर्थिक दिगोपना (ग्रिन) परियोजना” अन्तर्गत कार्यान्वयन भएका विभिन्न कार्यक्रमहरूको स्थलगत अनुगमन गरिएको हो ।
आर्थिक वर्ष २०८२÷८३ मा वडा नं. ४ मा परियोजनाको सहयोगमा सञ्चालन तथा निर्माण गरिएका कृषि तथा सीपमूलक कार्यक्रमहरूको अनुगमन गरिएको परियोजना अधिकृत रुक्साल पण्डितले जानकारी दिनुभएको छ। उहाँका अनुसार परियोजनामार्फत निर्माण गरिएको जुठ्यान, सिँचाइ कुलो तथा ट्याङकी, करेसाबारी, बेमौसमी तरकारी खेती, पिसानी, पेलानी मिल, घाँस काट्ने तथा बताउने मेसिन र विभिन्न सीपमूलक तालिमहरूको अवस्थाबारे स्थलगत अध्ययन गरिएको हो ।
वडा नं ४ मा जुठ्यान ५० वटा, बाख्रा ४७ जनालाई, सिँचाइ कुलो ३ वटा÷१ सय २० मिटर, ट्याङकी , करेसाबारी ५२ जनालाई, टनेल ६ जनालाई, पिसानी÷पेलानी मिल १÷१, घाँस काट्ने मेसिन एउटा, बताउने मेसिन ३ वटा तथा विभिन्न सीपमूलक तालिमहरु कपाल काट्ने, ड्राइभिङ्ग, सिलाइकटाईमा ११ जनालाई सिप प्रदान गरीएको छ ।
अनुगमनका क्रममा परियोजनाबाट लाभान्वित स्थानीयहरूले कार्यक्रमबाट आफ्नो जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् । स्थानीय अम्मकला रोकायाले आर्थिक अवस्था कमजोर भएका बेला संस्थाबाट दुई वटा बाख्रा सहयोग प्राप्त गरेको र हाल ती बढेर चार वटा पुगेको बताउनुभयो । अहिले जीविकोपार्जनको मुख्य आधार नै यही बाख्रापालन बनेकोले संस्थाको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा राख्नुभएको छ ।
पहिले व्यवस्थित तरकारी खेतीबारे पर्याप्त जानकारी नभएका किसानहरू अहिले संस्थाबाट प्राप्त तालिम र प्राविधिक सहयोगका आधारमा आधुनिक तरिकाले खेती गर्न थालेका छन् । उनीहरूले थोपा सिँचाइ, जुठ्याल्नुको पानी तथा झोलमोल मलको प्रयोग गरी तरकारी उत्पादन गरिरहेका हुन् ।
परियोजनाबाट तालिम तथा आवश्यक सामग्री प्राप्त गरेपछि टनेलमार्फत बेमौसमी तरकारी तथा टमाटर खेती गर्दै आउनुभएकी बाटुकला रोकायाले हाल व्यावसायिक रूपमा टमाटर उत्पादन गरिरहनुभएको छ । उहाँले तालिमबाट सिकेको ज्ञान प्रयोग गरी जैविक झोलमोल तयार गरेर टमाटरलाई विभिन्न रोग तथा किराबाट जोगाउने प्रयास गरिरहेको बताउनुभयो ।
अनुगमन टोलीले परियोजनाले स्थानीय आवश्यकता, भौगोलिक अवस्था तथा सम्भावना भएका क्षेत्र र व्यक्तिको पहिचान गरी कार्यक्रम सञ्चालन गरेको पाएको जनाएको छ । कृषकहरूलाई टमाटर खेतीमा काटछाँट गर्ने विधि, थोपा सिँचाइ, मल्चिङ, प्लास्टिकको प्रयोग तथा जैविक विषादी निर्माण र प्रयोगसम्बन्धी प्राविधिक ज्ञान प्रदान गरिएको समेत अनुगमनका क्रममा देखिएको थियो ।
त्यसैगरी, कार्ययोजना निर्माण गरी सार्वजनिक भवन तयार गरिएको, सिँचाइ कुलो निर्माणमा श्रमदान प्रभावकारी रहेको, पेलानी तथा पिसानी मिल सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ उत्पादन भइरहेको र प्रभावित क्षेत्र तथा व्यक्तिलाई आवश्यकताअनुसार सहयोग उपलब्ध गरीएको पाइएको छ ।
अनुगमनका क्रममा केही सुधार गर्नुपर्ने पक्षहरू पनि औंल्याइएको छ । पिसानी तथा पेलानी मिल सञ्चालनका लागि स्पष्ट निर्देशिका तयार गर्नुपर्ने, बाख्रापालक कृषकलाई वितरण गरिएका अम्रिसो तथा नेपियर घाँसको उत्पादन र प्रयोगमा थप ध्यान दिनुपर्ने, लाभग्राहीहरूमा कार्यक्रमप्रति अपनत्व र दिगोपनाबारे अभिमुखीकरण गर्नुपर्ने तथा आवश्यक कृषि औजार सामग्री सहयोगलाई निरन्तरता दिनुपर्ने सुझाव सरोकारवालाहरूले दिएका छन् ।
अनुगमनमा बुढीनन्दा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मानबहादुर कार्की, वडा नं. ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता जंगवीर रोकाया, कृषि शाखा प्रमुख भागेन्द्र मल्ल, आइ.एन.जी.ओ फोकल प्रर्सन वृजन बहादुर शाही, नायब प्राविधिक सहायक गोकर्ण देवकोटा, परियोजना संयोजक खेमराज मिश्र, परियोजना अधिकृत रुक्साल पण्डित, उद्यम विकास सहजकर्ता टंकबहादुर रोकाया, सामाजिक परिचालक देवीचन्द्र बोहरा, पत्रकार तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले परियोजनामार्फत सञ्चालन भएका कृषि, सीप विकास तथा जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रमहरूले स्थानीय समुदायको आयआर्जन र आत्मनिर्भरतामा सकारात्मक प्रभाव पार्न थालेको निष्कर्ष निकालेका छन् ।