सर्मिला रोकाया, बाजुरा
बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ मा खाद्यान्न तथा त्रिपाल वितरण गरिएको छ । बुढीनन्दा नगरपालिका र वडा कार्यालयको साझेदारीमा वडा नम्बर १ अन्तर्गतका मटेला, पार्तोला, हरिकवल र साउनेगाउँका बाढीपहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित भएका परिवारलाई खाद्यान्न तथा त्रिपाल वितरण गरिएको वडा कार्यालयले जनाएको छ । गत जेठ १४ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित २ सय ४४ परिवारलाई खाद्यान्न तथा ३९ परिवारलाई त्रिपाल वितरण गरिएको वडा नम्बर १ का अध्यक्ष मान बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले प्रति परिवार चामल, दाल, नुन र त्रिपाल वितरण गरीएको बताउनुभयो ।
आज एकै दिन २ सय २ परिवारलाई प्रति परिवार २५ केजी चामल, १ केजी दाल र २ केजी नुन वितरण गरिएको छ । साथै विपद्को सुरुवाती चरणमै ४२ परिवारलाई तत्काल राहतस्वरूप खाद्यान्न उपलब्ध गराइएको थियो । त्यसैगरी घर तथा बासस्थानमा क्षति पुगेका ३९ परिवारलाई त्रिपाल वितरण गरिएको उहाँले बताउनुभयो ।
राहत वितरण कार्यक्रममा वडा अध्यक्ष मान बहादुर कार्की, वडा सदस्य वीर बहादुर कार्की, कर्मचारी यज्ञराज कार्की, स्थानीय रामभक्त कार्की लगायत प्रभावित स्थानीयवासीको सहभागिता रहेको थियो । विपद्पछि प्रभावित परिवारलाई राहत उपलब्ध गराइएपछि स्थानीयवासीले केही राहत महसुस गरेका छन् । वडा कार्यालयले आवश्यकताका आधारमा आगामी दिनमा पनि प्रभावित परिवारलाई सहयोग तथा पुनःस्थापनाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।