६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत


चालू आर्थिक वर्षको ११ महिना सकिँदा सरकारले विकास बजेट भनिने पूँजीगत बजेटको ३२ दशमलव ५३ प्रतिशतमात्रै खर्च गरेको छ । पूँजीगततर्फको ४ खर्ब ७ अर्बमध्ये ११ महिना सकिँदा १ खर्ब ३२ अर्ब रुपैयाँमात्रै खर्च भएको हो ।

गएको वर्ष ३ खर्ब ५२ अर्बको बजेटमा यही समयमा १ खर्ब ४३ अर्ब रुपैयाँ पूँजीगत खर्च भएको थियो । नयाँ सरकार आएपछि विकास निर्माणको कामलाई प्राथमिकता दिने भने पनि खर्च भने बढ्न सकेको छैन ।

सरकारले चालू आर्थिक वर्ष कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म कुल बजेट खर्च लक्ष्यको ६८ दशमलव ५६ प्रतिशत बराबर भएको छ । चालू खर्च लक्ष्यको ७६ दशमलव ९१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८१ दशमलव ४७ प्रतिशत बराबर खर्च भएको छ ।

सरकारले चालू र वित्तीय व्यवस्थापनतर्फ उल्लेख्य खर्च गरे पनि विकासतर्फ भने काम गर्न नसकेको हो । विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुका साथै बजार चलायमानसमेत हुँदैन ।

सधैँजसो आर्थिक वर्षको अन्तिममा अर्थात् असारमा हतारहतार बजेट खर्च गर्दा अनियमितता बढेको गुनासो आउने गरेको छ । यसपालि पनि अवस्था उस्तै देखिएको हो ।

यस्तै राजस्व र आम्दानीसमेत ११ महिनामा लक्ष्यको ७२ दशमलव ४२ प्रतिशतमात्र भएको छ । ११ महिनामा सरकारले ११ खर्ब १० अर्ब आम्दानी गर्दा १३ खर्ब ४६ अर्ब रुपैयाँ खर्च पुगेको छ । अपुग २ खर्ब ३६ अर्ब रुपैयाँका लागि सरकारले ऋण लिएको छ ।