काठमाडौँ – ट्राफिक प्रहरीसँग विवाद भएपछि यात्रुलाई गाडीबाट ओरालेर आफैंलाई आगो लगाएका अर्जुन दोङ तामाङले पटक–पटक अरूको नाममा जारी भएको सवारी चालक अनुमति पत्र प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।
सोमबारको घटनापछि उनको साथबाट काभ्रेको तिमाल निवासी दावा लामाको नाममा जारी भएको लाइसेन्स फेला परेको थियो। अनुसन्धानका क्रममा उक्त व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ रहेको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले बताए।
प्रहरीका अनुसार तामाङ २०८२ साल कात्तिकमा बालाजुमा बस दुर्घटना हुँदा तीन जना घाइते भएको घटनामा समेत संलग्न थिए। उक्त घटनापछि उनी फरार रहेको र त्यसबेला सुनिल तामाङको नाममा जारी लाइसेन्स प्रयोग गरेको प्रहरीले जनाएको छ।
त्यस्तै, करिब तीन महिनाअघि मुलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा पनि उनले दावा तामाङको नाममा रहेको लाइसेन्स प्रयोग गरेको प्रहरीको भनाइ छ।
सोमबार ट्राफिक प्रहरीसँग विवाद भएको केही समयपछि तामाङले यात्रुलाई गाडीबाट ओरालेर आफैंलाई आगो लगाएका थिए। घटनालगत्तै प्रहरीले गाडीको ढोका फुटाएर उनलाई उद्धार गरेको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।
अस्पतालका अनुसार उपचारका लागि पुर्याउँदा उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। उपचारकै क्रममा सोमबार साँझ ७ बजेउनको मृत्यु भएको हो।
