६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026

आलोचकलाई साइबर कानुन लगाएर पक्राउ नगर्न कांग्रेस सांसद थपलियाको आग्रह


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले सरकारको आलोचना गर्ने नागरिकलाई साइबर कानुनको प्रयोग गरी पक्राउ नगर्न सरकारसँग आग्रह गरेकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्रमा सरकारको प्रशंसा मात्र होइन, असहज प्रश्न र आलोचना सुन्न सक्ने वातावरणसमेत आवश्यक रहेको बताइन्।

उनले वैधानिक अभिव्यक्तिलाई अपराधको रूपमा चित्रण गर्न नहुने धारणा राखिन्। झुटा सूचना फैलाउने छुट कसैलाई नभए पनि साइबर कानुनको आडमा वैधानिक आलोचनालाई अपराध बनाउनु उचित नभएको उनको भनाइ थियो।

थपलियाले अभिव्यक्ति स्वतन्त्रता संविधानमा मात्र सीमित नभई नागरिकको विचार र व्यवहारमा समेत सुनिश्चित हुनुपर्ने बताइन्। सरकार जनताका प्रश्न र आलोचनाबाट अलग हुन नसक्ने उनको भनाइ थियो।

उनले राजनीतिक सत्ता र नेतृत्व परिवर्तन भए पनि नागरिकको दैनिक जीवनमा अपेक्षित सुधार आउन नसकेको टिप्पणी गरिन्। जनताले सरकारको कामकारबाहीबारे जवाफ खोजिरहेको उनले बताइन्।

बैठकमा सांसद थपलियाले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमाथि फुर्केखोलामा रहेको पक्की पुल बगेको लामो समय भइसक्दा पनि वैकल्पिक व्यवस्था हुन नसकेको विषयसमेत उठाइन्। उनले प्रभावित क्षेत्रको आवागमन सहज बनाउन तत्काल पुल पुनर्निर्माणको काम अघि बढाउन सरकारसँग माग गरिन्।