६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026

भोटेकोशी बाढीपछि आमाछोदिङ्मोमा राजु लामाको राहत


काठमाडौँ – भोटेकोशी बाढीका कारण सडक सम्पर्कबाट पूर्ण रूपमा अलगिएको रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा गायक राजु लामाले राहत सामग्री पुर्‍याएका छन्।

बाढी आएको २५ दिनसम्म पनि राहत नपुगेको जानकारी पाएपछि लामाले हेलिकोप्टर चार्टर गरी विकट बस्तीमा चामल, तेल, नुनलगायत खाद्यान्न पुर्‍याएका हुन्।

राजु लामा फाउन्डेसनले नौ पटक हेलिकोप्टरमार्फत करिब ३ हजार ५ सय किलो राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको जनाएको छ। राहत वितरणसँगै विकट तेताङ्चे गाउँमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको लामाले बताए।

फाउन्डेसनले आमाछोदिङ्मो गाउँपालिकाका ८ जना बिरामी तथा ज्येष्ठ नागरिकलाई हेलिकोप्टरमार्फत जिल्ला सदरमुकाम धुन्चेसम्म उद्धारसमेत गरेको छ।

लामाका अनुसार बाढीपछि लामो समयसम्म राहत नपुग्दा स्थानीय बासिन्दा आलु, स्थानीय सिमी लगायत उपलब्ध खाद्यान्नमा निर्भर हुन बाध्य भएका थिए। उनले समस्यामा परेका नागरिकलाई सहयोग गर्न अन्य व्यक्ति तथा संस्थालाई समेत आग्रह गरेका छन्।

भोटेकोशी बाढीले पक्की तथा झोलुङ्गे पुल बगाएपछि आमाछोदिङ्मो गाउँपालिका राज्यका अन्य भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ। बाढीका कारण रसुवा, नुवाकोट र धादिङका त्रिशूली नदी आसपासका बस्तीसमेत प्रभावित भएका छन्।

रसुवामा बाढीबाट हालसम्म १ हजार ४ सय १० जनाको शव फेला परेको र ६ हजार १ सय ४५ जना अझै बेपत्ता रहेको विवरणमा उल्लेख छ।