काठमाडौँ – जलवायु परिवर्तनका असरलाई अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले ‘जलवायु कूटनीतिक शाखा’ स्थापना गरेको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार जलवायु परिवर्तनका कारण नेपालको संस्कृति, सभ्यता र अस्तित्वमा समेत चुनौती थपिँदै गएकाले जलवायु कूटनीतिलाई प्राथमिकताका साथ अघि बढाउन नयाँ शाखा गठन गरिएको हो।
नयाँ शाखाले कूटनीतिक पहलसँगै जलवायुजन्य विपद्का तथ्यांक तथा वैज्ञानिक प्रमाण संकलन, अध्ययन र मूल्याङ्कन गर्नेछ। साथै जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा विभिन्न निकायबीच समन्वय गर्दै प्रतिकार्यका गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी पनि शाखाले पाउनेछ।
प्रवक्ता क्षेत्रीका अनुसार नेपालमा जलवायु परिवर्तनसम्बन्धी अध्ययन तथा अनुसन्धान गरिरहेका सरकारी तथा अन्य संस्थासँग सहकार्य गरी आवश्यक तथ्यांक र प्रमाण संकलन गरिनेछ। विभिन्न मन्त्रालय तथा निकायबाट भइरहेका जलवायु परिवर्तनसम्बन्धी कामलाई समन्वय गरी एकद्वार प्रणालीबाट अघि बढाउन शाखाले भूमिका खेल्नेछ।
संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत रहने गरी शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले जलवायु कूटनीतिलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको प्रवक्ता क्षेत्रीले बताए। उनका अनुसार पछिल्ला विपद्का घटनाले नेपालको अस्तित्व र वातावरणीय सुरक्षामा देखिएको चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा थप मजबुत ढंगले उठाउनुपर्ने अवस्था सिर्जना गरेको छ।
शाखाले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन तथा सभामा नेपालको सहभागिताका लागि आवश्यक सूचना, तथ्यांक र प्रमाण जुटाउनसमेत सहयोग गर्नेछ। यसबाट सरकारको जलवायु सम्बन्धी कार्ययोजना, नीति तथा अन्तर्राष्ट्रिय कूटनीतिक तयारीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ।