६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026

प्रधानमन्त्री शाहले विमानस्थलको औपचारिक बिदाइ परम्परा तोड्दै


काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले विदेश भ्रमणका क्रममा विमानस्थलमा हुँदै आएको औपचारिक बिदाइ कार्यक्रमको परम्परा यसपटक तोड्ने भएका छन्।

शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्दै छन्। उनी दोहामा छोटो ट्रान्जिटपछि न्युयोर्क पुग्नेछन्।

परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा यसपटक प्रधानमन्त्रीको औपचारिक बिदाइ कार्यक्रम राखिएको छैन। मन्त्री, उच्चपदस्थ अधिकारी तथा कूटनीतिज्ञलाई समेत बिदाइका लागि विमानस्थलमा बोलाइएको छैन।

यसपटक गार्ड अफ अनर, रेड कार्पेट र औपचारिक समारोहसमेत नहुने भएको छ। प्रधानमन्त्रीको सवारी भीआईपी लाउन्जबाट सिधै विमान पार्किङ गरिएको स्थानसम्म जानेछ।

भोटेकोशी बाढीका कारण देश शोकमा रहेका बेला विमानस्थलमा तामझाम नगर्ने प्रधानमन्त्रीको चाहनाअनुसार यस्तो निर्णय गरिएको अधिकारीहरूले बताएका छन्। साथै, विमानस्थलमा औपचारिक बिदाइ कार्यक्रम नगर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई पनि यस निर्णयको आधार मानिएको छ।

प्रधानमन्त्री शाहले बिहीबार संयुक्त राष्ट्रसंघको महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्नेछन्। सोही दिन महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी शनिबार काठमाडौं फर्कनेछन्।