६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026

पुल बगेपछि धादिङका विद्यार्थी, बिरामी र यात्रुलाई सास्ती


धादिङ –भोटेकोशी बाढीले फुर्केखोलास्थित पक्की मोटरेबल पुल बगाएपछि धादिङका विभिन्न क्षेत्रका सर्वसाधारणको दैनिक आवतजावत प्रभावित भएको छ। पुल नहुँदा विद्यार्थी, बिरामी, वृद्धवृद्धा तथा यात्रुले जोखिमपूर्ण वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ।

सिद्धलेक गाउँपालिका–१ का डेढ सयभन्दा बढी विद्यार्थी अहिले बीच बाटोमै गाडीबाट ओर्लिएर कच्ची सडक हुँदै करिब आधा घण्टा पैदल हिँडेर झोलुङ्गे पुल पार गर्न बाध्य छन्। पुल पार गरेपछि मलेखुबाट विद्यालयको बस चढेर उनीहरू विद्यालय पुग्ने गरेका छन्।

झोलुङ्गे पुल साँघुरो र जीर्ण भएकाले पैदलयात्रीसँगै मोटरसाइकलको चाप बढ्दा जोखिम थपिएको स्थानीयको भनाइ छ। पुलको लठ्ठासमेत चुँडिएको भन्दै विद्यार्थीलाई सुरक्षित आवतजावत गराउन समस्या भइरहेको शिक्षकहरूले बताएका छन्।

भदौ १० गतेको बाढीले गजुरी गाउँपालिकाको फुर्केखोला र सिद्धलेक गाउँपालिकाको परेवाटार जोड्ने त्रिशूली नदीमाथिको मोटरेबल पुल बगाएको हो। पुल पुनर्निर्माण कहिले हुन्छ भन्ने अझै टुंगो लागेको छैन।

पुल बगेपछि धादिङबेँसीसहित जिल्लाका उत्तरी तथा मध्य भागका आठ स्थानीय तह राष्ट्रिय राजमार्गको सहज पहुँचबाट प्रभावित भएका छन्। नीलकण्ठ नगरपालिका, सिद्धलेक, ज्वालामुखी, नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी, गङ्गाजमुना, खनियाबास र रुवीभ्याली गाउँपालिकामा यसको प्रत्यक्ष असर परेको छ।

बिरामीलाई अस्पताल पुर्‍याउनसमेत समस्या भएको छ। एम्बुलेन्स चालकका अनुसार वैकल्पिक कच्ची सडक प्रयोग गर्दा काठमाडौं पुग्न लाग्ने समय दोब्बरजस्तै भएको छ। पहिले करिब साढे दुई घण्टामा पुगिने काठमाडौं पुग्न अहिले साढे चारदेखि पाँच घण्टासम्म लाग्ने गरेको उनीहरूको भनाइ छ। लामो र जोखिमपूर्ण यात्राका कारण गम्भीर अवस्थाका बिरामी थप जोखिममा पर्ने गरेका छन्।

चाडपर्व नजिकिँदै जाँदा यात्रुको चिन्ता पनि बढेको छ। धादिङबाट काठमाडौं, पोखरा, विराटनगर, चितवन, भैरहवा लगायतका सहरमा आवतजावत गर्ने यात्रुको संख्या दसैंका बेला उल्लेख्य रूपमा बढ्ने भएकाले सडकको अवस्थाले थप समस्या निम्त्याउने यातायात व्यवसायीको भनाइ छ।

पुलको विकल्पका रूपमा सञ्चालन गरिएको परेवाटार–माझटार सडक पनि सहज छैन। एकतर्फी सञ्चालनमा रहेको उक्त सडक कच्ची, घुमाउरो र जोखिमपूर्ण भएकाले लामो दूरीका सवारीसाधनलाई कठिनाइ भएको चालकहरूले बताएका छन्।

यातायात प्रभावित हुँदा बजार तथा आपूर्ति व्यवस्थामा समेत असर परेको छ। वैकल्पिक सडक हुँदै सामान ढुवानी गर्दा अतिरिक्त खर्च लाग्ने भएकाले खाद्यान्न, ग्यास, तेल, नुन, मलखाद, पेट्रोलियम पदार्थ र कुखुराको दानालगायतका वस्तुको मूल्य बढेको व्यवसायीहरूले बताएका छन्।

उद्योग वाणिज्य संघ धादिङका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीका अनुसार व्यापारीको मौज्दात घट्दै गएको छ र उपभोक्ता महँगीको मारमा परेका छन्। चाडपर्वका बेला अत्यावश्यक वस्तुको अभाव हुन सक्ने भन्दै व्यवसायीले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।

पुल बगेको चार साता पुग्न लाग्दा पनि तत्कालीन वैकल्पिक व्यवस्था र स्थायी समाधान टुंगो लाग्न सकेको छैन। जिल्ला प्रशासन कार्यालयले गृह तथा भौतिक पूर्वाधार मन्त्रालयमा पत्राचार गरी समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ।

फुर्केखोलामा सम्भव नभए मलेखुघाट नजिकको पुलसँग जोडेर बेलीब्रिज राख्ने विकल्पबारे पनि छलफल भइरहेको छ। तर, त्यसबारे अहिलेसम्म ठोस निर्णय भएको छैन।

सत्तारूढ रास्वपाका सांसद बोधनारायण श्रेष्ठले फुर्केखोलामा लामो पुल आवश्यक पर्ने भएकाले उपलब्ध साना बेलीब्रिज प्रयोग गर्न प्राविधिक समस्या रहेको बताएका छन्। उनले स्थायी पुलको प्रक्रिया अघि बढाउने र दसैंअघि वैकल्पिक सडक सुधार गर्ने तयारी भइरहेको बताएका छन्।

यता कांग्रेस र एमालेका सांसदहरूले भने तत्काल बेलीब्रिजको व्यवस्था गरेर नागरिकको आवागमन सहज बनाउन सरकारसँग माग गरेका छन्।