६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026

प्रज्ञा प्रतिष्ठानले बृहत् पुस्तक प्रदर्शनी आयोजना गर्दै


काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसँग सम्बन्धित पुस्तकको प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् पुस्तक प्रदर्शनी आयोजना गर्ने भएको छ।

पठन संस्कृतिको विकास र पाठक तथा प्रकाशकबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले असोज ९ देखि १८ गतेसम्म कमलादीस्थित प्रतिष्ठान परिसरमा ‘बृहत् पुस्तक प्रदर्शनी-२०८३’ आयोजना गर्न लागिएको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए।

प्रतिष्ठानका अनुसार प्रदर्शनीमा पुस्तकहरूमा ४० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। सरकारी तथा संस्थागत प्रकाशनसँगै निजी प्रकाशन गृह, पुस्तक वितरक र सम्बन्धित संस्थाहरूले समेत प्रदर्शनीमा आफ्ना कक्ष राखेर पुस्तक प्रदर्शन तथा बिक्री गर्न सक्नेछन्।

प्रदर्शनीमा सहभागी हुन इच्छुक प्रकाशन गृह तथा संस्थाले असोज ७ गतेसम्म आवेदन दिन सक्ने प्रतिष्ठानले जनाएको छ।

प्रदर्शनीमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य, लोकसाहित्यलगायत ज्ञानमूलक तथा सिर्जनात्मक विधाका पुस्तकलाई प्राथमिकता दिइनेछ।

सहभागी प्रकाशन गृह तथा संस्थालाई आयोजकले तोकेको मापदण्ड र उपलब्धताका आधारमा प्रतिष्ठानले निःशुल्क प्रदर्शनी कक्ष उपलब्ध गराउने जनाएको छ।