५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026

एसियाडका लागि जुडो टोलीलाई पामद्वारा बिदाइ


काठमाडौं । सफल जुडो खेलाडी उत्पादन गर्दै आएको बन्दी सहायता नियोग (पाम) ले २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली जुडो टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको छ।

जापानको आइची र नागोयामा असोज ३ गतेदेखि सुरु भएको एसियाडमा नेपालका तर्फबाट जुडोमा समान ३–३ पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। जुडोका खेलहरू असोज १४ गतेदेखि सुरु हुनेछन् भने नेपाली जुडो टोली असोज १० गते जापान प्रस्थान गर्नेछ।

पुरुषतर्फ ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि सुजन गुरुङले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि देवकीमाया श्रेष्ठ र ७० केजीमुनि पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्।

देवकीमाया र विकासको यो दोस्रो एसियाड सहभागिता हो भने अन्य चार खेलाडी पहिलोपटक एसियाडमा सहभागी हुँदैछन्। देवकीमाया र निशा दिदीबहिनी हुन् भने विकास र विशेष दाजुभाइ हुन्। टोलीको प्रशिक्षकमा सुनिता मगर ताम्राकार रहेकी छन्। एसियाडमा सहभागी हुन आईटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि जापान जानेछन्।

देवकीमाया र निशा पामकै उत्पादन हुन्। यसअघि चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा देवकीमायाले आफ्ना दाइ इन्द्रबहादुर श्रेष्ठसँगै प्रतिस्पर्धा गरेकी थिइन्। इन्द्रबहादुरसहित ओलम्पियन मनीता श्रेष्ठ प्रधान पनि पामकै उत्पादन हुन्।

पामबाट सफल जुडो खेलाडी उत्पादनमा पामका कार्यकारी निर्देशक तथा प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठको महत्वपूर्ण योगदान रहेको छ। श्रेष्ठले सन् १९९० मा चीनको बेइजिङमा भएको एसियाली खेलकुदमा नेपालका तर्फबाट प्रतिस्पर्धा गरेका थिए।

टोलीलाई पामका कार्यवाहक अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, ओलम्पियन ऋषिराम प्रधान, देबु थापा तथा जुडोका प्रमुख प्रशिक्षक वीरेन्द्र रन्जितलगायतले बिदाइ गर्दै सफलताको शुभकामना दिएका छन्।