सर्मिला रोकाया
बाजुराको दुर्गम हिमाली गाउँपालिकामा पहिलो पटक नियमित आँखा उपचार सेवा सञ्चालनमा आएको छ। हिमाली गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल र च्यारिटी फाउन्डेसन नेपालको साझेदारीमा आँखा उपचार सेवा सञ्चालनमा आएको हो ।
वर्षौंदेखि आधारभूत आँखा उपचार सेवाबाट वञ्चित रहेका हिमाली क्षेत्रका नागरिकका लागि यो केन्द्र सञ्चालनमा आउनु आएको स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीले जानकारी दिनुभएको छ ।
भौगोलिक विकटता, यातायातको अभाव र आधुनिक स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा सामान्य आँखा परीक्षणका लागि समेत टाढाका सहर पुग्नुपर्ने बाध्यता थियो। समयमै उपचार नपाउँदा धेरैले दृष्टि गुमाउनु परेको तथा कतिपय नागरिक दृष्टिविहीन भई अपाङ्गताको पीडा भोग्न बाध्य भएका थिए।
धुलाचौरमै नियमित आँखा उपचार सेवा सुरु भएसँगै स्थानीयवासीको लामो समयदेखिको स्वास्थ्य समस्या समाधानतर्फ महत्वपूर्ण कदम चालिएको उहाँले बताउनु भयो । उहाँले आज उद्घाटनकै अर्थात पहिलो दिनमै १ सय ९० भन्दा बढी सर्वसाधारणले आँखा परीक्षण गराएका छन्। परीक्षणपछि आवश्यक बिरामीलाई निःशुल्क औषधि र चस्मा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
अब यस केन्द्रबाट नियमित रूपमा आँखा जाँच तथा उपचार सेवा उपलब्ध गराइनेछ। साथै, परीक्षणका क्रममा मोतियाबिन्दु वा अन्य जटिल समस्या देखिएका बिरामीहरूको निःशुल्क शल्यक्रिया तथा थप उपचारको व्यवस्था समेत मिलाइने भण्डारीले जानकारी दिनुभयो ।
धुलाचौर आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै बाजुराका नागरिक मात्र होइन, छिमेकी हुम्ला र मुगु जिल्लाका सीमावर्ती बस्तीका सर्वसाधारणले पनि प्रत्यक्ष लाभ लिन सक्ने भएका छन्। तीन जिल्लाको संगम क्षेत्रमा रहेको यो केन्द्र दुर्गम भेगका नागरिकका लागि सहज, सुलभ र भरपर्दो आँखा उपचार सेवाको महत्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालका सभापति रामलाल आचार्य प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको सञ्चालन तथा सहजीकरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भण्डारीले जनाइएको छ ।
विकट हिमाली क्षेत्रमा पहिलो पटक नियमित आँखा उपचार सेवा सुरु भएपछि स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणले यसलाई स्वास्थ्य सेवाको पहुँच विस्तारतर्फको ऐतिहासिक उपलब्धि भन्दै खुसी व्यक्त गरेका छन्।