सर्मिला राेकाया, कोल्टी,बाजुरा
बाजुराको बुढीनन्दा नगरपालिका–२, कोल्टीस्थित बुढीनन्दा आधारभूत विद्यालयमा स्थानीय तथा रैथाने खाद्य परिकार प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीमा पोषण शिक्षा, स्थानीय खाद्य प्रवद्र्धन तथा स्वस्थ खानपान सम्बन्धी व्यवहारमा विकास गर्ने उद्देश्यले प्रर्दशनी कार्यक्रम सम्पन्न गरिएको हो ।
ली–बर्ड (LI–BIRD) द्वारा सञ्चालित समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना (Better Nutrition Project)र बुढीनन्दा नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा १ सय ६१ जनाको सहभागिता रहेको परियोजना जिल्ला संयोजक युवराज थापाले जानकारी दिनुभएको छ । उहाँले सहभागीमध्ये ईसीडीदेखि कक्षा ५ सम्मका १ सय २७ जना विद्यार्थी, ६ जना शिक्षक, २३ जना अभिभावक तथा बुढीनन्दा नगरपालिकाका ५ जना कर्मचारी सहभागी भएका बताउनुभयो ।
उहाँले स्थानीय स्तरमै उत्पादन हुने पोषणयुक्त खाद्य सामग्रीलाई समेटेर अन्न तथा कन्दमूल, गेडागुडी, हरियो सागसब्जी तथा पहेँलो फलफूल, पशुपन्छीजन्य खाद्य पदार्थ, (WASH )(स्वच्छता) कर्नर तथा पोषण नाङ्लोसहित ६ वटा विषयगत प्रदर्शनी स्टल स्थापना गरिएको थियो । प्रत्येक स्टलमा स्थानीय तथा रैथाने खाद्य सामग्रीको नाम, पोषणको महत्व र स्वास्थ्यसम्बन्धी सन्देश समावेश गरिएको परियोजनाले जनाएको छ ।
प्रदर्शनीमा कागुनोको खीर, कोदोको रोटी, फापरको माड लगायत स्थानीय परिकार आकर्षणका केन्द्र बनेका थिए । विद्यार्थीहरूले प्रदर्शनी अवलोकन गर्दै स्थानीय खाद्य पदार्थको पोषणीय महत्व, सन्तुलित आहार, खाद्य विविधता तथा व्यक्तिगत सरसफाइसम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका थिए ।
कार्यक्रममा “हरेक पटकको खानामा चार खाद्य समूह समावेश गरौँ“, “स्थानीय तथा रैथाने खाद्य पदार्थको प्रयोग बढाऔँ“, “रङ्गीन थाल, सन्तुलित भोजन र पोषण नाङ्लोको अभ्यास गरौँ“ भन्ने सन्देश प्रवाह गरिएको थियो । साथै खाना खानुअघि साबुनपानीले हात धुने, सुरक्षित पानी प्रयोग गर्ने र व्यक्तिगत सरसफाइ कायम राख्ने विषयमा पनि सहभागीलाई जानकारी दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बुढीनन्दा आधारभूत विद्यालयका प्रधानाध्यापक सीता सिंहले विद्यालयमा स्थानीय तथा रैथाने खाद्य प्रदर्शनी कार्यक्रम पहिलो पटक आयोजना गरिएको बताउनुभयो । उहाँले यस्ता व्यवहारिक कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिलाई स्थानीय खाद्य पदार्थको पोषणकाे महत्वबारे नयाँ ज्ञान प्राप्त हुने र बालबालिकामा सानैदेखि स्वस्थ खानपानको बानी विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ंिसंहले विद्यालयमै कार्यक्रम सञ्चालन गरेकोमा ली–बर्डप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा राख्नुभएको छ ।
कार्यक्रममा सहभागी अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले स्थानीय स्रोत, साधन र रैथाने खाद्य पदार्थको उपयोग बढाउँदै बालबालिकाको पोषण अवस्था सुधार गर्न विद्यालय, समुदाय र स्थानीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
यूरोपियन युनियनको आर्थिक सहयोग, वेल्टहुङ्गरहिल्फे (WHH) को प्राविधिक सहयोग तथा ली–बर्ड (LI–BIRD) को कार्यान्वयनमा सञ्चालित समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना हाल बाजुराका बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका, त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिकामा सञ्चालन भइरहेको छ । परियोजनाले बहुक्षेत्रीय पोषण योजना (MSNP III) को प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याउँदै स्थानीय सरकार, विद्यालय र समुदायसँगको सहकार्यमा पोषण सुधार, स्थानीय खाद्य प्रवद्र्धन तथा व्यवहार परिवर्तनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
परियोजनाका अनुसार विद्यालयस्तरमा सञ्चालन गरिएको यस्तो स्थानीय तथा रैथाने खाद्य प्रदर्शनीले बालबालिकामा पोषण शिक्षाको विस्तार गर्नुका साथै स्थानीय उत्पादनप्रतिको आकर्षण बढाउने, रैथाने खाद्य संरक्षण गर्ने तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने दिशामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।