१८ श्रावण २०८३, सोमबार

सुत्केरी महिलाका लागि उद्योग वाणिज्य संघका महासचिव शाहीद्वारा रक्तदान, आमा र शिशुको अवस्था सामान्य ।


सर्मिला राेकाया, बाजुरा

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोट निवासी उद्योग वाणिज्य संघका महासचिव तथा युवा व्यवसायी भगिरथ शाहीले एक जना सुत्केरी महिलाको ज्यान बचाउन रक्तदान गर्नुभएको छ । बुढीनन्दा नगरपालिका–२, कोल्टी निवासी २० वर्षीया सुनिता साहानीलाई ज्यान बचाउन समयमै रक्तदान गर्नुभएको हो ।
साहानीले कोल्टी आधारभूत अस्पतालमा दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएपछि अत्यधिक रक्तस्राव भएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई तत्काल ए.बी. पोजिटिभ समूहको रगत आवश्यक परेको थियो ।
सुत्केरी महिलालाई रगत आवश्यक रहेको जानकारी प्राप्त हुनासाथ उद्योग वाणिज्य संघका महासचिव शाही अस्पताल पुगेर रक्तदान गर्नुभएको कोल्टी आधारभूत अस्पतालका सी.अहेव कफिन विश्वकर्माले जानकारी दिनुभयो । उहाँले समयमै रगत उपलब्ध भएपछि उपचारमा सहजता पुगेको र सुत्केरी महिलाको ज्यान जोखिमबाट जोगाउन महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो ।
“हिजो राति सुत्केरी भएपछि अत्यधिक रक्तस्राव भएकाले तत्काल रगतको आवश्यकता परेको थियो । रक्तदाताको खोजी गर्ने क्रममा शाहीको रक्तसमूह मिल्ने जानकारी पाएपछि उहाँ तुरुन्तै अस्पताल पुगेर रक्तदान गर्नुभयो,” उहाँले भन्नुभयो ।
रक्तदानपछि प्रतिक्रिया दिँदै युवा व्यवसायी शाहीले मानव जीवनभन्दा ठूलो सेवा अरू कुनै नहुने बताउनुभयो । “सुत्केरी महिलालाई अत्यावश्यक रगत चाहिएको खबर पाएँ । मेरो रक्तसमूह पनि मिल्ने रहेछ । रक्तदान नै जीवनदान हो भन्ने भावनाका साथ अस्पताल पुगेर रगत दिएँ । मेरो सानो सहयोगले कसैको जीवन बचाउन सकिन्छ भने त्योभन्दा ठूलो खुसी अरू केही हुँदैन,” उहाँले भन्नुभयो

अस्पतालका अनुसार समयमै रगत उपलब्ध भएकाले उपचार प्रभावकारी बनेको छ । हाल सुत्केरी आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको सी.अहेव विश्वकर्माले जानकारी दिनुभयो । उहाँले आकस्मिक अवस्थाका बिरामीको उपचारमा रक्तदानको भूमिका अत्यन्त महत्वपूर्ण हुने भन्दै स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा स्वेच्छिक रक्तदान गर्न आग्रह गर्नुभयो । स्थानीय स्तरमा भएका यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आवश्यक पर्दा रक्तदान गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

ताजा समाचार