सर्मिला रोकाया
बाजुरामा खाना पकाउन प्रयोग हुने एलपी ग्यासको अभाव चुलिँदै गएको छ । कोल्टीलगायत जिल्लाका विभिन्न क्षेत्रमा मागअनुसार ग्यासको आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा परेका छन् । ग्यास लिन उपभोक्ताले घण्टौँसम्म लाइन बस्नुपर्ने र खाली सिलिन्डर बुझाएपछि पनि एक सातादेखि १० दिनसम्म पालो कुर्नुपर्ने अवस्था देखिएको छ ।
कोल्टीस्थित नविन ग्यास डिपोमा ग्यास लिन उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । नियमित रूपमा एलपी ग्यास प्रयोग गर्दै आएका परिवारसँगै विद्यार्थी, कर्मचारी, डेरामा बस्ने व्यक्ति तथा होटल–चिया नास्ता व्यवसायीसमेत ग्यास अभावबाट बढी प्रभावित भएका छन् ।
नविन ग्यास डिपोका वितरक नविन शाहीका अनुसार आपूर्ति कम्पनीबाट मागअनुसार पर्याप्त ग्यास प्राप्त नहुँदा कोल्टीमा समस्या देखिएको हो । उहाँका अनुसार आपूर्ति कम्पनीबाट ग्यास लिन करिब दुई सातासम्म लाइन बसेपछि एक सय ५० सिलिन्डर मात्र प्राप्त भएको छ ।
“ढुवानीको हिसाबले एक पटकमा करिब तीन सय ५० सिलिन्डरसम्म ल्याउन सकिने भए पनि मागअनुसार ग्यास प्राप्त नहुँदा अहिले एक सय ५० सिलिन्डर ल्याएर वितरण गर्नुपर्ने अवस्था छ,” वितरक शाहीले भन्नुभयो ।
ग्यासको मात्रा कम र माग उच्च भएपछि नविन ग्यास डिपोले उपभोक्तालाई लाइनमा राखेर दर्ता प्रक्रियामार्फत ग्यास वितरण गरिरहेको छ । शाहीका अनुसार आपूर्ति कम्पनीबाट पर्याप्त ग्यास नपाउनुका साथै बजारमा अभाव हुने संकेत पाएपछि उपभोक्ता ट्रक कोल्टी पुग्नुअघि नै लाइनमा बस्ने गरेका छन् ।
ग्यास अभावका कारण दैनिक खाना पकाउनसमेत समस्या भएको उपभोक्ता निर्मला थापाले बताउनुभयो । उहाँका अनुसार घरमा ग्यास सकिएको एक साता भइसकेको थियो । नयाँ सिलिन्डर डिपोमा पुगेको खबर पाएलगत्तै ग्यास लिन लाइनमा बस्न पुग्नुभयो ।
“ग्यास सकिएको एक हप्ता भयो । ग्यास नपाएपछि दाउरा बालेर खाना पकाउनुपर्ने बाध्यता छ, आज सिलिन्डर आएको थाहा पाएपछि तुरुन्तै लाइनमा बसेँको छु”उहाँले भन्नुभयो ।
नेपाल आयल निगमका अनुसार असार ३१ गतेदेखि आधा सिलिन्डरको सट्टा पुनः पूर्ण सिलिन्डर बिक्री सुरु भएपछि बजारमा एलपी ग्यासको माग एक्कासि बढेको हो । निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउने प्रयास भइरहेको जनाएको छ ।
तर दुर्गम जिल्ला बाजुराका उपभोक्ताका लागि ग्यास अभावको समस्या तत्काल समाधान हुने अवस्था देखिएको छैन । नियमित आपूर्ति नहुँदा घरायसी उपभोक्ताले वैकल्पिक रूपमा दाउरा प्रयोग गर्नुपर्ने अवस्था आएको छ भने होटल तथा चिया–नास्ता व्यवसायसमेत प्रभावित भएका छन् ।
उपभोक्ताले जिल्लामा एलपी ग्यासको आपूर्ति नियमित गर्न, मागअनुसार पर्याप्त ग्यास उपलब्ध गराउन र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूले दुर्गम क्षेत्रमा ढुवानी तथा आपूर्तिको समस्या देखाउँदै लामो समयसम्म ग्यासको पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्नसमेत आग्रह गरेका छन् ।