सर्मिला राेकाया
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न क्षेत्रमा यस वर्ष स्याउको उत्पादन राम्रो भए पनि सडक र बजारको सहज पहुँच नहुँदा किसान चिन्तित बनेका छन् । पाकेर बिक्रीका लागि तयार भएको स्याउ समयमै बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने जोखिम बढेको किसानहरूले बताएका छन् ।
गाउँपालिकाका संकल्पे, जेवाले, जुकोट, जोरु, रिव्डा, सैदेयो, खुन्का, लोथि, मुजेरा, मुक्राहा र गोठी गाउँलगायतका क्षेत्रमा यस वर्ष स्याउ लटरम्म फलेको छ । उत्पादन राम्रो भए पनि गाउँसम्म पुग्ने सडकको अवस्था कमजोर हुँदा व्यापारीहरू स्याउ खरिद गर्न किसानका बारीसम्म पुग्न सकेका छैनन् ।
किसानका अनुसार केही व्यापारी गाउँसम्म पुग्न नसकेर फर्किने गरेका छन् भने केहीले सडकको अवस्थाका कारण स्याउ खरिद गर्न आनाकानी गर्ने गरेका छन् । व्यापारी हिक्मत कैलाले स्वामीकार्तिकका पाँचवटै वडामा स्याउ राम्रो फले पनि सडकको समस्या सबैभन्दा ठूलो चुनौती बनेको बताउनुभयो ।
उहाँका अनुसार तल्लो जोरुको कुवा–नाउलासम्म ट्र्याक्टर पुगे पनि त्यसभन्दा माथिका विभिन्न ठाउँमा सडक अवरुद्ध छ । स्याउ झर्न थालिसकेको अवस्थामा तत्काल सडक मर्मत गरी ढुवानी सहज बनाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
“स्वामीकार्तिकका पाँचवटै वडामा स्याउ लटरम्म फलेको छ । तर सडकको सहज पहुँच छैन । तल्लो जोरु कुवा–नाउलासम्म ट्र्याक्टर पुगे पनि त्यसभन्दा माथि ठाउँ–ठाउँमा सडक अवरुद्ध छ । स्याउ झर्न थालिसकेको छ, त्यसैले सडक मर्मतमा स्थानीय सरकारले तत्काल ध्यान दिनुपर्छ,” कैलाले बताउनुभयो ।
वर्षौँदेखि स्याउ खेतीमा लगानी गर्दै आएका किसानका लागि यस वर्ष उत्पादन राम्रो हुनु उत्साहजनक भए पनि बजारको अभाव भने मुख्य चुनौती बनेको छ । बजारसम्म उत्पादन पु¥याउन नसक्दा लाखौँ रुपैयाँ बराबरको स्याउ बारीमै नोक्सान हुने जोखिम बढेको किसानहरूको भनाइ छ ।
कृषक कपुरबहादुर शाहीका अनुसार अहिले स्याउ पाकेर झर्न थालेको छ । समयमै बिक्री र ढुवानीको व्यवस्था हुन नसके स्याउ बारीमै कुहिने तथा चराचुरुङ्गी, बाँदर र अन्य वन्यजन्तुको आहार बन्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
“स्याउ राम्रो फलेको छ, तर बजारसम्म लैजाने बाटो छैन । व्यापारी पनि गाउँसम्म आउँदैनन् । समयमै ढुवानीको व्यवस्था भएन भने ठूलो परिमाणमा स्याउ नोक्सान हुने अवस्था छ,” शाहीले भन्नुभयो ।
स्वामीकार्तिकमा पछिल्ला वर्षहरूमा स्याउ उत्पादनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । उत्पादन बढाउन किसानले लगानी र मेहनत गरिरहेका भए पनि सडक, ढुवानी र बजारको भरपर्दो व्यवस्था नहुँदा उनीहरूले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।
किसानहरूले उत्पादन बढाउने मात्र नभई उत्पादित वस्तुको बजार सुनिश्चित गर्न पनि सरकारको ध्यान जानुपर्ने माग गरेका छन् । स्थानीय तह, प्रदेश सरकार तथा सम्बन्धित निकायले तत्काल सडक सञ्चालन, अवरुद्ध सडक मर्मत र ढुवानीको व्यवस्था मिलाएर स्याउ बजारसम्म पु¥याउने वातावरण बनाउनुपर्ने उनीहरूको माग छ ।
समयमै सडक सञ्चालन र बजारको व्यवस्था हुन नसके यस वर्ष उत्पादन भएको ठूलो परिमाणको स्याउ बारीमै खेर जाने र किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको छ । उत्पादनका हिसाबले सम्भावनायुक्त स्वामीकार्तिकमा सडक र बजारको अभाव भने स्याउ किसानका लागि प्रमुख बाधक बनेको छ ।