काठमाडौँ – हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने प्रमुख मार्ग त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा दुईतर्फी सवारी सञ्चालनमा आएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएपछि दुवै मार्गमा दुईतर्फी यातायात खुला गरिएको हो।
त्रिभुवन राजपथले हेटौँडालाई पालुङ र नौबिसे हुँदै काठमाडौँसँग जोड्छ भने कान्ति राजमार्गले हेटौँडालाई टीकाभैरव हुँदै ललितपुर र काठमाडौँ उपत्यकासँग जोड्ने गर्छ।
कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि गत भदौ १६ गतेदेखि सवारी आवागमन सहज र सुरक्षित बनाउन मालवाहक तथा ठूला यात्रुवाहक सवारीलाई काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्कंदा कान्ति राजमार्ग प्रयोग गर्ने गरी एकतर्फी यातायात व्यवस्था गरिएको थियो।
कृष्णभीर खण्डमा सडक सञ्चालनमा आएसँगै उक्त व्यवस्था हटाइएको हो। प्रशासनले शुक्रबारदेखि त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा दुवैतर्फबाट सवारी सञ्चालन गर्न अनुमति दिएको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए।