५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026

युवतीको विवादमा गोली प्रहार, सुनसरीमा दुई जना पक्राउ


काठमाडौं – सुनसरीको देवानगञ्ज गाउँपालिका–१, मध्येहर्षाहीमा युवतीको विषयलाई लिएर भएको पुरानो विवाद गोली प्रहारसम्म पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

शनिबार साँझ लक्ष्मीनारायण मन्दिरअगाडि गोली प्रहारबाट घाइते भएका स्थानीय २४ वर्षीय निरजकुमार यादवको शरीरमा लागेको गोली आइतबार बिहान शल्यक्रिया गरी निकालिएको छ। विराटनगरस्थित नोबेल अस्पतालमा गरिएको शल्यक्रियाका क्रममा चिकित्सकले उनको शरीरबाट एउटा बुलेट निकालेका हुन्।

यादवको दायाँ खुट्टाको माथिल्लो भागमा गोली लागेको थियो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले देवानगञ्ज–२ का स्थानीय जयकिशोर यादव ‘लाली’ र विष्णुकुमार यादवलाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य चार जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए।

प्रहरीका अनुसार युवतीको विषयलाई लिएर भएको विवादकै क्रममा गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनाको कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए।

‘फरार आरोपीहरूको पनि पहिचान खुलेको छ, उनीहरूलाई नियन्त्रणमा लिएपछि यकिन विवरण थाहा हुन्छ,’ डीएसपी खड्काले भने।

प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्ति र घाइते यादव पूर्वपरिचित हुन्। घाइतेको शरीरबाट निकालिएको बुलेट परीक्षण गरी कुन हतियारबाट गोली प्रहार भएको हो भन्ने यकिन गरिने प्रहरीले जनाएको छ।