५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026

बिमकोट दरबार हस्तान्तरण भयो, संग्रहालय बनाउने योजना अलमलमै


अछामको मेल्लेख गाउँपालिका–५ मा रहेको ऐतिहासिक बिमकोट दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। बाइसे राज्यकालीन इतिहास बोकेको तीनतले ४५ कोठे दरबारलाई संग्रहालय बनाउने उद्देश्यले परिवारले २०८० फागुन २ गते गाउँपालिकालाई निःशुल्क हस्तान्तरण गरेको दुई वर्ष बितिसक्दा पनि घेरपर्खाल लगाउनेबाहेक ठोस संरक्षण तथा पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन।

ढुंगा, माटो र काठबाट निर्मित दरबारका स्लेट छाना जीर्ण भएका छन् भने वर्षायाममा पानी चुहिने र भित्री भागका काठ कुहिन थालेका छन्। ऋषिदह क्षेत्रबाट ल्याइएका बुट्टेदार ढुंगाबाट बनेका पर्खालसमेत कमजोर बन्दै गएका छन्।

इतिहासका जानकारहरूका अनुसार बिमकोट तत्कालीन अछाम राज्यका प्रमुख शक्तिकेन्द्रमध्ये एक थियो। बाइसे राज्यकालमा अछाम विभिन्न रजौटा तथा कोटमा विभाजित हुँदा बिमकोटबाट समेत राज्य सञ्चालन हुने गरेको थियो।

हालको दरबार निर्माणको काम २०२२ सालपछि तीव्र पारिएको थियो। स्थानीयको वर्षौंको श्रमदान, कालीगढको काष्ठकला र राजपरिवारको लगानीमा १३ वर्ष लगाएर २०३६ सालमा निर्माण पूरा भएको स्थानीय जानकारहरू बताउँछन्। ४५ कोठा र ५० भन्दा बढी काष्ठकलायुक्त झ्याल–ढोका रहेको दरबार पहाडी वास्तुकलाको नमुनाका रूपमा चिनिन्छ।

२०५८ सालमा तत्कालीन विद्रोही नेकपा माओवादीले दरबारमा आक्रमण गरेपछि त्यहाँ रहेका ऐतिहासिक दस्तावेज, ताम्रपत्र, लालमोहर, पुराना हतियारलगायत सामग्री लुटिए तथा नष्ट भए। त्यसपछि राजपरिवार विस्थापित भयो र दरबार लामो समयदेखि रेखदेखविहीन रहँदै आएको छ।

दरबार संरक्षण गर्न व्यक्तिगत प्रयास पर्याप्त नहुने निष्कर्षमा पुगेपछि जनकबहादुर शाहले दरबारसँग जोडिएको ६ रोपनी ८ आना जग्गासहित गाउँपालिकालाई निःशुल्क हस्तान्तरण गरेका थिए। त्यसपछि दरबारलाई ऐतिहासिक संग्रहालयका रूपमा विकास गर्ने र बिमकोटलाई पर्यटकीय गन्तव्य बनाउने अपेक्षा गरिएको थियो।

तर गाउँपालिकाले स्वामित्व लिएपछि अहिलेसम्म क्षेत्रको घेरपर्खाल निर्माणबाहेक मूल संरचनाको जीर्णोद्धार गर्न सकेको छैन। मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्काले मौलिक वास्तुकला जोगाउँदै पुरानै शैलीमा पुनर्निर्माण गर्नुपर्ने भएकाले बजेट व्यवस्थापनको प्रयास भइरहेको बताएका छन्।

स्थानीयका अनुसार पुरातत्व विभागका टोलीले पटक–पटक अनुगमन र नापजाँच गरे पनि संरक्षणको काम अघि बढ्न सकेको छैन। स्थानीयवासीले समयमै छाना तथा संरचनाको मर्मत नगरे दरबार थप जीर्ण भएर केही वर्षमै अस्तित्व गुमाउने जोखिम रहेको बताएका छन्।

ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिमकोट दरबारलाई समयमै संरक्षण गरी संग्रहालयका रूपमा विकास गर्न सके यसले मेल्लेखसँगै समग्र अछामको पर्यटन र स्थानीय आर्थिक गतिविधिमा योगदान पुर्‍याउन सक्ने स्थानीयको अपेक्षा छ।