४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026

१० दिनपछि सुरुङबाट उद्धार गरिएका कविर महर्जनको स्वास्थ्यमा सुधार


काठमाडौँ – रसुवाको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका कविर महर्जनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।

वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचाररत महर्जनको स्वास्थ्यमा सुधार भइरहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्। लामो समय एउटै अवस्थामा बसेका कारण उनको खुट्टामा असर परेको र त्यसका कारण उपचारमा केही समय लागेको उनले बताए।

अस्पतालले महर्जनलाई चाँडै डिस्चार्ज गर्ने तयारी गरेको छ।

गत भदौमा आएको भीषण बाढीपछि आयोजनाको सुरुङभित्र फसेका महर्जनलाई करिब १७० मिटर गहिराइबाट उद्धार गरिएको थियो। उनी आयोजनामा परियोजना सुपरभाइजरका रूपमा कार्यरत थिए। उनीसँगै फोरम्यान सञ्जय शाहलाई पनि जीवितै उद्धार गरिएको थियो।

बाढीका कारण सुरुङको प्रवेशद्वारमा ढुंगा, माटो र लेदो थुप्रिएपछि उद्धार टोलीलाई सुरुङसम्म पुग्न कठिन भएको थियो। सुरुङभित्र कामदारहरू जीवितै हुन सक्ने आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गरेको थियो।

उद्धारका क्रममा सुरुङभित्र एक जनाको शवसमेत फेला परेको थियो। त्यसपछि सुरुङ तथा आयोजनाको पावरहाउस क्षेत्रमा थप खोजी गर्दा अन्य जीवित व्यक्तिको संकेत नभेटिएको सुरक्षाकर्मीले बताएका थिए।

उद्धारपछि गम्भीर अवस्थामा रहेका महर्जनलाई काठमाडौं ल्याएर सैनिक अस्पतालमा भर्ना गरिएको थियो। उनकी पत्नी हिराशोभा महर्जनका अनुसार उद्धारलगत्तै उनी केही समय परिवारका सदस्यलाई समेत चिन्न नसक्ने अवस्थामा थिए। पछि पानी माग्दै विस्तारै कुराकानी गर्न थालेका थिए।