५ कार्तिक २०८३, बुधबार Wednesday, October 21, 2026

एसियन गेम्समा विश्व कीर्तिमानदेखि कम उमेरका खेलाडीको चर्चासम्म


काठमाडौं । जापानमा जारी आइची–नागोया एसियन गेम्समा विश्व कीर्तिमान, युवा खेलाडीको उत्कृष्ट प्रदर्शन र नयाँ खेलको आकर्षणले प्रतियोगितालाई थप चर्चित बनाएको छ।

जापानका १७ वर्षीय शिन ओहाशीले पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा विश्व कीर्तिमान कायम गर्दै स्वर्ण जितेका छन्। उनले यसअघि १०० मिटर ब्रेस्टस्ट्रोकमा पनि स्वर्ण जितिसकेका थिए। ओहाशीले चीनका छिन हाइयाङले २०२३ मा बनाएको २ मिनेट ५.४८ सेकेन्डको कीर्तिमान तोडेका हुन्।

१२ वर्षीया हङकङकी स्केटबोर्डर कामुस वोङ पनि कम उमेरमै देखाएको आत्मविश्वास र खेलप्रतिको लगावका कारण चर्चामा छिन्। उनले ओलम्पिकका लागि आफू तयार रहेको बताउँदै अझ उत्कृष्ट प्रदर्शनका लागि निरन्तर प्रशिक्षण आवश्यक रहेको उल्लेख गरेकी छन्। जापानका ११ वर्षीय युकी कुरिहारा भने एसियन गेम्सका सबैभन्दा कम उमेरका प्रतिस्पर्धी हुन् र उनले इस्पोर्ट्समा सहभागिता जनाइरहेका छन्।

क्रिकेटतर्फ जापानले भारतसँग खेलेपछि एसोसिएट राष्ट्रका खेलाडीको अनुभव र उत्साह पनि चर्चामा आएको छ। जापानले त्यसपछि अफगानिस्तानसँग ४८ रनको हार बेहोरेको थियो। जापानी खेलाडी साकुरानो–थोमसले भारत र अफगानिस्तानजस्ता पूर्ण सदस्य राष्ट्रसँग एउटै साता खेल्न पाउनु ठूलो उपलब्धि भएको बताएका छन्।

भारोत्तोलनमा उत्तर कोरियाकी रि सङ गुमले महिला ४९ केजी तौल समूहमा स्न्याच, क्लिन एन्ड जर्क र कुल भारमा तीन विश्व कीर्तिमान कायम गर्दै स्वर्ण जितिन्। भारतकी मिराबाई चानुले १९८ केजी कुल भारसहित रजत पदक हात पारिन्।

महिला साइक्लिङ रोड रेसमा अफगानिस्तानकी फरिबा हाशिमीले रजत जितेकी छन्। खेलकुदमा महिलाको सहभागितामा चुनौती रहेको आफ्नो देशको अवस्थाबीच उनले हासिल गरेको सफलता पनि चर्चामा आएको छ।

एसियन गेम्समा पहिलोपटक समावेश गरिएको टेकबलले समेत दर्शकको ध्यान आकर्षित गरेको छ। फुटबल र टेबल टेनिसका विशेषता समेटिएको यस खेलमा थाइल्यान्डले तीन स्वर्ण जितेको छ।

प्रतियोगिताको पहिलो स्वर्ण आयोजक जापानले जितेको थियो। पुरुष व्यक्तिगत ट्रायथलनमा ताकुमी होजोले ५२ मिनेट ५६ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेका थिए। यस्तै, भारतले महिला क्रिकेटमा श्रीलंकालाई फाइनलमा पराजित गर्दै स्वर्ण जितेको छ। भारतले १० मिटर एयर पेस्तोल मिक्स्ड टिममा पनि स्वर्ण हात पारेको छ।

ताजा समाचार