काठमाडौं- भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट विस्थापित नुवाकोट र रसुवाका परिवारहरू अविरल वर्षाका कारण अस्थायी शिविरमै थप कठिनाइ भोग्न बाध्य भएका छन्।
लगातारको वर्षाले त्रिपालभित्र पानी पस्दा विस्थापित परिवारहरू भिज्नुपर्ने, चिसो सहनुपर्ने र हिलोमै बस्नुपर्ने अवस्था आएको छ। शिविरमा बस्दै आएका बालबालिका, सुत्केरी महिला तथा वृद्धवृद्धाको स्वास्थ्य जोखिमसमेत बढेको छ।
वर्षाका कारण विस्थापितहरूलाई खाना पकाउन, राहत सामग्री लिन तथा सुरक्षित स्थानमा आवतजावत गर्नसमेत समस्या भएको छ। लामो समयदेखि अस्थायी शिविरमा बस्नुपर्दा उनीहरूको दैनिक जीवन थप कष्टकर बन्दै गएको छ।
स्थानीय प्रशासनले तत्काल वैकल्पिक व्यवस्था नभएसम्म विस्थापित परिवारलाई होल्डिङ सेन्टरमै बस्न आग्रह गरेको जनाएको छ। साथै, उनीहरूको दीर्घकालीन व्यवस्थापनका लागि सुरक्षित स्थानमा जग्गा पहिचान तथा व्यवस्थापनको गृहकार्य भइरहेको प्रशासनले जनाएको छ।
बाढीबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित आवास, खाद्यान्न, स्वास्थ्य सेवा तथा अन्य आवश्यक राहत उपलब्ध गराउनुपर्ने अवस्था देखिएको छ।
