बागलुङ – लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। बहाव बढेसँगै बागलुङ, पर्वत र म्याग्दीका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
प्रहरीका अनुसार मुस्ताङतर्फबाट लेदोसहितको बाढी कालीगण्डकीमा मिसिएपछि नदीको बहाव बढेको हो। नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
तीनवटै जिल्लाका प्रहरीले तटीय क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सचेत गराइरहेका छन्। म्याग्दीको बेनी तथा बागलुङका नियरघाट र मालढुंगालगायत कालीगण्डकी आसपासका बस्तीका नागरिकलाई विशेष सतर्कता अपनाउन भनिएको छ।
शनिबार बिहानदेखि नदीको जलसतह अघिल्लो दिनको तुलनामा थप बढेको जनाइएको छ। पर्वतको मोदीवेणीमा कालीगण्डकी नदीको बहाव चेतावनी तह पार गरेको छ भने नदी बग्ने अन्य क्षेत्रमा पनि जलसतह चेतावनी तहभन्दा तल रहे पनि बढ्दो क्रममा रहेको जनाइएको छ।