४ कार्तिक २०८३, मंगलवार Tuesday, October 20, 2026

नुवाकोट–रसुवा सडक सम्पर्क अझै जोडिन सकेन, दसैंसम्म रसुवागढी नाका खुलाउने तयारी


काठमाडौं — भोटेकोशी बाढीपछि सम्पर्कविच्छेद भएका नुवाकोट र रसुवा अझै सिधा सडक सञ्जालमा जोडिन सकेका छैनन्। उत्तरगया पब्लिक स्कुल नजिकको करिब ३ सय मिटर भीरमा सडक ट्र्याक खोल्ने तथा फलाखु खोलामा बेलिब्रिज जडान गर्ने काम पूरा हुन बाँकी छ।

सडक विभागले भने दसैंसम्म रसुवागढी नाकासम्म सडक ट्र्याक खोल्ने तयारी गरेको जनाएको छ। बेत्रावती–रसुवा–स्याफ्रुबेंसी सडकखण्डमा अहिले डेढ दर्जनभन्दा बढी मेसिन परिचालन गरी निर्माण तथा मर्मतको काम भइरहेको छ।

रसुवागढी नाका पुनः सञ्चालन गर्न पूर्वाधार विकासमन्त्री सुनील लम्सालले समेत पहल गरिरहेका छन्। उनले नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग भेट गरी बाढीबाट क्षतिग्रस्त रसुवाका पूर्वाधार पुनर्निर्माण, रसुवागढी नाका सञ्चालन तथा नागरिकको सहज आवतजावतका लागि चीन सरकारबाट सहयोगको आग्रह गरेका छन्।

यसैगरी, मुस्ताङको कोरला र सिन्धुपाल्चोकको तातोपानी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहयोगका लागि पनि चीनसँग आग्रह गरिएको मन्त्रीको सचिवालयले जनाएको छ।

ताजा समाचार