७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

महाकालीमा पानीको बहाव उच्च, धौलीगंगा बाँधबाट पानी छोड्ने कार्यक्रम स्थगित


कञ्चनपुर- निरन्तर वर्षाका कारण महाकाली नदीमा पानीको बहाव उच्च भएपछि भारतको धौलीगंगा बाँधबाट पानी छोडेर सिल्ट सफा गर्ने पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ।

भारतको उत्तराखण्डस्थित धारचुला तहसिलका अनुसार असोज ११ र १२ गते धौलीगंगा बाँधबाट पानी छोडेर सिल्ट सफा गर्ने तयारी थियो। तर, लगातारको वर्षा र महाकालीको बढ्दो जलस्तरलाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरिएको हो।

धारचुलाका उपजिलाधिकारी आशीष जोशीले हालको प्रतिकूल मौसम र नदीको उच्च जलस्तरका कारण बाँधबाट पानी छोड्दा महाकालीको सतह खतरा तहभन्दा माथि पुग्न सक्ने जोखिम रहेको जनाएका छन्।

यसैबीच, भारतको बनबासास्थित शारदा ब्यारेजमा आइतबार बिहान १० बजे महाकालीको बहाव १ लाख ७५ हजार ७१६ क्युसेक पुगेको छ। बहाव एक लाख क्युसेक नाघेपछि गड्डाचौकी–बनबासा नाकाबाट चारपाङ्ग्रे मालवाहक तथा यात्रुवाहक सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।

कञ्चनपुर प्रशासनले महाकालीसहित जोगबुढा, चौधर, स्याली, दोदा र मोहना नदी तथा खोलानालाको बहाव बढिरहेकाले तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासन तथा सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै आवश्यक परे उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिरहेका छन्। सर्वसाधारणलाई नदी तथा खोलानालाको किनारमा नजान र प्रशासनले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।

ताजा समाचार