काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मौसममा क्रमिक सुधार आए पनि आन्तरिक हवाई उडान अझै उपकरणको सहायताबाट सञ्चालन हुने आईएफआर (IFR) प्रणालीअन्तर्गत भइरहेका छन्।
विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार काठमाडौंको दृश्यता बिहान ३ देखि ४ हजार मिटरको आसपास रहेकाले हेरेर उडान भर्ने भीएफआर (VFR) प्रणाली लागू हुन आवश्यक ५ हजार मिटर दृश्यता पुग्न सकेको छैन। यद्यपि, आन्तरिक उडानहरू अधिकांश गन्तव्यमा नियमित भइरहेका छन्। लुक्लातर्फका उडानसमेत सञ्चालनमा छन्।
अन्तर्राष्ट्रिय उडानतर्फ भने उडानको क्रम मिलाउन केही विमानलाई आकाशमै होल्ड गर्नुपरेको थियो। चाइना साउदर्न र टर्किस एयरलाइन्सका विमान केही समय आकाशमै होल्डमा परेका थिए।
यसैबीच, नेपाललाई युरोपसँग जोड्ने प्रमुख हवाई सेवामध्ये एक टर्किस एयरलाइन्सको काठमाडौं उडान करिब चार घण्टा ढिलो भएको छ। काठमाडौं र टर्कीतर्फको मौसम तथा उडान सञ्चालनको अवस्थाका कारण उडान प्रभावित भएको हो। काठमाडौं आउँदै गरेको टर्किसको विमान सिमराको आकाशमा करिब आधा घण्टा होल्डमा परेको थियो।
उडान मार्गको मौसमका कारण हेलिकोप्टर सेवा पनि प्रभावित भइरहेको विमानस्थलले जनाएको छ। भने विराटनगर विमानस्थल भने मौसमका कारण प्रभावित नभई नियमित सञ्चालनमा रहेको विमानस्थल प्रमुख सुवाष झाले बताएका छन्।