काठमाडौँ- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि नेपाल बार एसोसिएसनले त्यसको स्पष्ट कारण सार्वजनिक गर्न माग गरेको छ।
नेपाल बारका अध्यक्ष विजय मिश्रले जबरालाई पक्राउ गरिएको हो वा सुरक्षाका कारण नियन्त्रणमा लिइएको हो भन्ने विषय अझै स्पष्ट नभएको बताएका छन्। उनले मध्यरातमा नियन्त्रणमा लिने प्रक्रियामाथि प्रश्न उठेको भन्दै घटनाको वास्तविक उद्देश्य स्पष्ट भएपछि मात्र संस्थाले आफ्नो धारणा सार्वजनिक गर्ने बताए।
प्रहरीले सुरुमा जबरालाई नियन्त्रणमा लिएको जानकारी दिए पनि पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुरक्षा चुनौतीका कारण उनलाई सुरक्षित स्थानमा लगिएको जनाएको छ। तर सुरक्षा चुनौती के थियो, खतरा कहाँबाट थियो र घरमै सुरक्षा व्यवस्था मिलाउनुको सट्टा उनलाई निवासबाटै किन लगियो भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन।
जबराविरुद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढाइएको हो कि होइन भन्ने विषय पनि हालसम्म स्पष्ट हुन सकेको छैन। परिवारका अनुसार जबराले घरमै थप सुरक्षाकर्मी खटाइदिन आग्रह गरेका थिए। त्यसको सट्टा उनलाई घरबाटै लगिएको विषयमा समेत प्रश्न उठेको छ।
नेपाल बारले भ्रष्टाचारको समर्थन गर्न नसकिने स्पष्ट गर्दै यो कदम भ्रष्टाचारविरोधी अभियान, राजनीतिक उद्देश्य वा अन्य कुनै कारणबाट भएको हो भन्ने विषय स्पष्ट हुनुपर्ने बताएको