५ कार्तिक २०८३, बुधबार Wednesday, October 21, 2026

पहिरो खसेपछि अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध


काठमाडौँ –अविरल वर्षासँगै पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। काभ्रेको धुलिखेल नगरपालिका–८, जिपलाइनस्थित सडकखण्डमा आइतबार बिहान करिब ८ः५५ बजे ढुङ्गा–माटोसहितको पहिरो खसेपछि राजमार्ग बन्द भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौं आउने–जाने सवारीसाधन रोकिएका छन्। यसबाट कोशीपारि क्षेत्रसँगै सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र भोजपुरलगायत पूर्वी जिल्लातर्फ जाने यातायात प्रभावित भएको छ।

यसअघि नै बीपी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेका कारण पूर्वी जिल्लातर्फ जाने सवारीसाधन अरनिको राजमार्ग हुँदै सञ्चालन हुँदै आएका थिए। अरनिको राजमार्गसमेत बन्द भएपछि पूर्वी जिल्लासँग काठमाडौंको सडक यातायात सम्पर्क थप प्रभावित भएको छ।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। तर लगातार वर्षा भइरहेकाले थप पहिरो खस्न सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ। सडक बन्द भएपछि विभिन्न स्थानबाट आएका र पूर्वतर्फ जान लागेका सवारीसाधन बाटोमै रोकिएका छन्।

ताजा समाचार