४ कार्तिक २०८३, मंगलवार Tuesday, October 20, 2026

रौतहटमा लालबकैया नदीको तटबन्ध कटान रोक्न सुरक्षा निकाय परिचालन


रौतहट- लगातारको भारी वर्षासँगै लालबकैया नदीको जलस्तर बढेपछि मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित तटबन्धमा भइरहेको कटान रोक्न स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय भएका छन्।

तटबन्धमा क्षति बढेपछि मौलापुरका वडा नं. १ देखि ५ तथा बौधिमाई नगरपालिकाका वडा नं. १ देखि ३ सम्मका विभिन्न क्षेत्र डुबानको जोखिममा परेका छन्। जोखिम न्यूनीकरणका लागि क्षतिग्रस्त स्थानमा मर्मत तथा पानीको बहाव नियन्त्रणको काम तीव्र पारिएको छ।

आइतबार साँझ मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र प्रशासनका अधिकारीहरूले तटबन्धको स्थलगत निरीक्षण गरेका थिए।

अनुगमनका क्रममा मन्त्री महतोले लालबकैया नदीको तटबन्धमा भइरहेको कटान रोक्न तथा आवश्यक मर्मत गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रशासनका अनुसार मर्यादपुरको तटबन्धमा ठूलो क्षति भएमा मौलापुरसँगै गम्हरिया, बरगिनिया, शीतलपुर, सन्तपुर र पेटभरवा क्षेत्र प्रभावित हुन सक्छन्। फतुवा पुल नजिक भगवानपुर क्षेत्रमा रहेको तटबन्ध भत्किए बाढीको पानी सदरमुकाम गौरसम्म पुग्न सक्ने जोखिमसमेत रहेको अधिकारीहरूले बताएका छन्।

कटान रोक्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षाकर्मी र स्थानीयवासीले कटान भएका स्थानमा बाँस गाड्ने तथा बालुवाले भरिएका बोरा राखेर पानीको बहाव नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

लगातार वर्षा भइरहेकाले नदीको जलस्तर थप बढ्न सक्ने भन्दै प्रशासनले तटबन्ध तथा नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान र बाढीको सूचना प्राप्त भएलगत्तै सुरक्षित स्थानमा जानसमेत अनुरोध गरिएको छ।

ताजा समाचार