४ कार्तिक २०८३, मंगलवार Tuesday, October 20, 2026

कम उमेरका च्याम्पियन, बढ्दो प्रतिस्पर्धाको दबाब


नागोया — आइची–नागोया एसियाली खेलकुदमा कम उमेरका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरिरहेका छन्। जापानका ११ वर्षीय युकी कुरिहाराले ई–स्पोर्ट्सको ‘पुयो पुयो च्याम्पियन्स’ स्पर्धामा स्वर्ण जित्दै जापानका सबैभन्दा कान्छा एसियाली स्वर्णधारी खेलाडी बनेका छन्।

शनिबार भएको फाइनलमा कुरिहाराले आफूभन्दा तीन गुणाभन्दा बढी उमेरका प्रतिस्पर्धीलाई पराजित गर्दै स्वर्ण जितेका हुन्। ‘पुयो पुयो’ रंगीन थोप्लाहरू मिलाएर हटाउने पजल खेल हो। उनी आगामी जुनमा १२ वर्ष पुग्नेछन्। स्वर्ण जितेपछि उनको छोटो प्रतिक्रिया थियो, ‘लाज पो लाग्यो।’

उनको सफलतापछि आइतबार जापानका विभिन्न पत्रपत्रिकाको पहिलो पानामा उनको तस्बिर प्रकाशित भएको थियो। एसियाली खेलकुद सन् १९५१ देखि हुँदै आए पनि सबैभन्दा कम उमेरका विजेताको आधिकारिक सूची भने उपलब्ध छैन।

यस संस्करणमा स्केटबोर्डिङमा ताइवानका १२ वर्षीय कु योङ यानले पुरुष पार्क स्पर्धामा रजत जितेका छन्। सोही स्पर्धामा जापानका १५ वर्षीय इजुरु नागहारा स्वर्ण विजेता बने। क्रिकेटमा भारतका वैभव सूर्यवंशी पनि १५ वर्षकै उमेरमा प्रतिस्पर्धा गरिरहेका छन्।

कम उमेरका खेलाडीको सफलतासँगै उनीहरूमाथि पर्ने दबाब र सुरक्षाको विषयमा पनि बहस सुरु भएको छ। ह्युमन राइट्स वाचकी जापानी निर्देशक कानाए डोइले युवा खेलाडीले अनुशासित प्रशिक्षणबाट अवसर पाए पनि शारीरिक, मौखिक तथा यौन दुर्व्यवहारको जोखिम सामना गर्न सक्ने बताएकी छन्।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २०२४ मा युवा खेलाडीसम्बन्धी अवधारणा पत्र जारी गर्दै उनीहरूमा चोटपटक र मानसिक स्वास्थ्यसम्बन्धी जोखिम बढी हुन सक्ने उल्लेख गरेको थियो।

चीनकी पौडीबाज यु जिडीले पनि यस संस्करणमा तीन स्वर्ण जितेकी छन्। १२ वर्षको उमेरमा विश्व च्याम्पियनसिपमा कांस्य जितेकी उनी अहिले १३ वर्षकी छिन्। पत्रकारहरूसँगको कुराकानीमा उनले ‘खेल्नु भन्दा अन्तर्वार्ता दिनु गाह्रो रहेछ’ भन्दै आफ्नो अनुभव सुनाएकी थिइन्।

ताजा समाचार