सर्मिला रोकाया, बाजुरा
बच्चालाई समयमा खाना खुवाउने, सफा राख्ने र नियमित स्वास्थ्य परीक्षण गराउने कुरा सामान्यजस्तो लागे पनि ग्रामीण क्षेत्रमा सही तरिका र यसको महत्वबारे पर्याप्त जानकारी नहुँदा बालबालिका कुपोषणको जोखिममा पर्ने गरेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै बाजुराको बुढीनन्दा नगरपालिका–६, कोटीलामा आमाहरूलाई लक्षित गरी १५ दिने पोषण शिक्षा तथा पुनःस्थापना केन्द्र कार्यक्रम सञ्चालन गरिएको छ ।
लिवर्डद्वारा सञ्चालित ‘समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना’ अन्तर्गत सकारात्मक भिन्न व्यवहारमा आधारित पोषण शिक्षा तथा पुनःस्थापना केन्द्र कार्यक्रम भाद्र २५ गतेदेखि असोज १२ गतेसम्म सञ्चालन गरिएको हो ।
कार्यक्रममा ६ जना आमाहरूलाई बालबालिकाको पोषण, स्तनपानपछि थप खाना खुवाउने तरिका, सरसफाइ, स्वास्थ्य परीक्षण, बाल स्याहार तथा पोषिलो खाना तयार गर्ने व्यवहारिक अभ्यासबारे जानकारी दिइएको परियोजना संयोजक युवराज थापाले बताउनुभयो ।
थापाका अनुसार कार्यक्रमको उद्देश्य बच्चाले पेट भरेर खायो कि खाएन भन्नेमा मात्र सीमित नभई के खायो, कसरी खायो, कति पटक खायो र कति सफा वातावरणमा खायो भन्ने विषयमा आमाहरूलाई सचेत बनाउनु हो ।
कार्यक्रम अवधिभर आमाहरूलाई जाउलो, लिटो, मौसमी फलफूल, अण्डा, पोषिलो खिर, सुजीको हलुवा लगायतका स्थानीय रूपमा उपलब्ध पोषिलो खानेकुरा तयार गर्ने तरिका सिकाइएको थियो । साथै स्तनपानपछि उमेरअनुसार थप खाना सुरु गर्ने, बच्चालाई खाना खुवाउने सही तरिका, खाना तथा पानीको सरसफाइ र बच्चा बिरामी पर्दा स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्थाबारे पनि व्यवहारिक ज्ञान दिइएको थियो ।
बच्चा जन्मिएपछि उसको शरीर र मस्तिष्क तीव्र रूपमा विकास हुने भएकाले प्रारम्भिक उमेरमा पर्याप्त र विविध पोषण नपाउँदा वृद्धि तथा विकासमा असर पर्न सक्छ । कुपोषण भनेको बच्चा अत्यन्तै दुब्लो देखिनु मात्र नभई उमेरअनुसारको तौल, उचाइ, खानपान, बारम्बार हुने संक्रमण, सरसफाइ तथा समग्र स्वास्थ्य अवस्थासँग जोडिएको समस्या हो । विशेषगरी पाँच वर्षमुनिका बालबालिका कुपोषणको जोखिममा रहने भएकाले उनीहरूको खानपान र स्वास्थ्यमा निरन्तर ध्यान दिन आवश्यक हुन्छ ।
परियोजना संयोजक थापाले कार्यक्रममार्फत ‘बच्चाले खाना नखाँदा के गर्ने, कति पटक खुवाउने, स्तनपानपछि थप खाना कसरी सुरु गर्ने, खाना र पानी कति सफा हुनुपर्छ र बच्चा बिरामी हुँदा कहिले स्वास्थ्य संस्था लैजाने’ जस्ता विषयमा आमाहरूलाई व्यवहारिक जानकारी दिइएको बताउनुभयो ।
उहाँका अनुसार पोषणसम्बन्धी ज्ञान किताब वा तालिममा मात्र सीमित नभई घरको भान्सामा, बच्चाको थालमा र आमाको दैनिक व्यवहारमा देखिनुपर्ने कुरामा कार्यक्रमले जोड दिएको थियो ।
कार्यक्रममा सहभागी लक्ष्मी लवारले १५ दिनको अवधिमा बालबालिकाको खानपान, सरसफाइ र स्याहारसम्बन्धी व्यवहारिक ज्ञान प्राप्त गरेको बताउनुभयो। उहाँले हरेक बार खाना चार, स्तनपानपछि थप खाना, स्याउको प्युरी तथा जाउलो बनाउन सिकेको बताउँदै ग्रामीण क्षेत्रमा सञ्चालन हुने यस्ता कार्यक्रम आमा र बालबालिकाका लागि उपयोगी हुने उल्लेख गर्नुभयो ।
कार्यक्रमको समापनमा सहभागी हुनुभएका बुढीनन्दा नगरपालिकाका सि.अ.हे.व. लोकेन्द्र जैशीले ६÷७ जना आमा तथा बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी भएको बताउनुभयो। उहाँले यस्ता पोषणसम्बन्धी कार्यक्रमलाई समुदायस्तरसम्म विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा परियोजना जिल्ला संयोजक युवराज थापा, अनुगमन तथा मूल्याङ्कन अधिकृत मिलन मरासैनी, पोषण अधिकृत सिर्जना शाह, सामाजिक परिचालक लक्ष्मण कार्की, बुढीनन्दा नगरपालिकाका सि.अ.हे.व. लोकेन्द्र जैशी, कोटिला आधारभूत स्वास्थ्य केन्द्रकी अ.हे.व. कमला विक, महिला स्वास्थ्य स्वयंसेविका ठुमुरा रोकाया, दुर्गा सुनारलगायत आमा तथा बालबालिकाको सहभागिता रहेको थियो ।