सर्मिला रोकाया, बाजुरा
किसानले मेहनत गरेर उत्पादन गरेको बाली खेतबाट भित्र्याएपछि सही तरिकाले व्यवस्थापन र भण्डारण गर्न नसक्दा उत्पादनको ठूलो हिस्सा नोक्सान हुने गरेको छ । उत्पादन बढाउनु मात्रै पर्याप्त नभई उत्पादनोपरान्त हुने क्षति न्यूनीकरण, उचित भण्डारण, ग्रेडिङ, प्याकेजिङ र बजारीकरणमा समेत ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
यही विषयलाई केन्द्रित गर्दै बाजुराको बुढीनन्दा नगरपालिका–२, कोल्टीमा बाली कटाइपछिको व्यवस्थापन तथा भण्डारणसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
ली–बर्ड,FWEAN र केसीडीसीको साझेदारी तथा WHH र BMZ जर्मनीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित इम्पावर परियोजनाअन्तर्गत तालिम आयोजना गरिएको हो ।
तालिममा स्थानीय स्तरमा उत्पादन गरिएका खाद्यान्न तथा तरकारी बालीलाई सही समयमा भित्र्याउनेदेखि सुरक्षित रूपमा भण्डारण गर्ने, ग्रेडिङ तथा प्याकेजिङ गर्ने, बजारसम्म पु¥याउने र उत्पादनको उचित मूल्य प्राप्त गर्ने उपायबारे किसानलाई जानकारी दिइएको थियो ।
त्यस्तै, उत्पादन तथा बिक्रीबाट हुने आम्दानी–खर्चको लेखाजोखा राख्ने, भण्डारण गर्दा चिस्यानको मात्रा कायम गर्ने, बाह्य रोगकिराबाट उत्पादनलाई जोगाउने र घरदेखि बजारसम्म ढुवानी गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा समेत किसानलाई व्यवहारिक ज्ञान दिइएको थियो ।
तालिमका प्रशिक्षकUNDP मा कार्यरत विशाल पौडेल, बुढीनन्दा नगरपालिकाको कृषि शाखाका प्रमुख भागेन्द्र मल्ल र नायब प्राविधिक सहायक दीपक कार्कीले सहजीकरण गर्नुभएको थियो ।
प्रशिक्षक विशाल पौडेलका अनुसार खाद्यान्न बालीको बोट पहेँलिन थाल्नु र जमिनले पानी सोस्न छाड्न थालेको अवस्था बाली भित्र्याउने समय भएको संकेत हो । बालीअनुसार उचित समयमा कटाइ गरी पर्याप्त रूपमा सुकाएर मात्र भण्डारण गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले धानलगायतका खाद्यान्न बालीलाई आवश्यकताअनुसार घाममा सुकाउने, भण्डारण गर्नुअघि चिस्यानको मात्रा जाँच गर्ने र बालीअनुसार उपयुक्त तापक्रम तथा वातावरणमा राख्नुपर्ने बताउनुभयो । सामान्यतः खाद्यान्न भण्डारणका लागि चिस्यानको मात्रा १२ प्रतिशतभन्दा कम हुनु उपयुक्त मानिने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, ताजा तरकारीको हकमा टिप्ने उपयुक्त समय, सरसफाइ, ग्रेडिङ, प्याकेजिङ, ढुवानी र भण्डारणमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । उत्पादनलाई बजारसम्म पु¥याउँदा गुणस्तर कायम राख्न सके किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न सक्ने उहाँले बताउनुभयो ।
तालिममा सहभागी मुगुको खत्याड गाउँपालिका–३ चिना टमटाले बाली भित्र्याउनेदेखि भण्डारणसम्म अपनाउनुपर्ने सही तरिका सिकेको बताउनुभयो । उत्पादनलाई उचित रूपमा व्यवस्थापन नगरे रोगकिराको समस्या आउन सक्ने, त्यसैले उपयुक्त बीउ छनोटदेखि उत्पादनपछिको व्यवस्थापनसम्म ध्यान दिनुपर्ने कुरा तालिमबाट सिकेको उहाँको भनाइ छ ।
तालिमबाट सिकेको ज्ञान गाउँ तथा समुदायस्तरमा अन्य किसानसम्म पु¥याउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै, बुढीनन्दा नगरपालिका–७ का गबदे लवारले अन्नबाली लगाउने, भित्र्याउने, सुरक्षित रूपमा भण्डारण गर्ने तथा बिक्रीवितरण गर्ने तरिकाबारे तालिमबाट महत्वपूर्ण जानकारी प्राप्त भएको बताउनुभयो । विभिन्न समूह र समुदायबाट किसानहरू सहभागी भएकाले आफूले सिकेको सीप गाउँघरमा पुगेर अन्य कृषकलाई समेत सिकाउनुपर्ने उहाँको भनाइ छ ।
दुई दिने तालिमको समापन गर्दै इम्पावर परियोजनाका जिल्ला संयोजक प्रभाकरण जोशीले तालिममा सिकेको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्न किसानलाई आग्रह गर्नुभयो । उहाँले बन्द कोठाभित्र सञ्चालन गरिएको तालिममा सिकेका कुरा तालिममै सीमित नराखी आफ्नो खेतबारी तथा समुदायमा प्रयोग गर्न सके मात्रै तालिमको उद्देश्य पूरा हुने उहाँले बताउनुभयो ।
उत्पादनपछिको व्यवस्थापनमा सामान्य कमजोरीका कारण किसानले उत्पादनको उचित मूल्य पाउन नसक्ने अवस्था अन्त्य गर्न तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिदै तालिम्ले स्थानीय खाद्य प्रणालीलाई सुदृढ गर्न टेवा पुग्ने बताउनु भयो ।
तालिममा बुढीनन्दा नगरपालिकाका १४ जना र मुगुको खत्याड गाउँपालिकाका ६ जना गरी २० जना कृषकको सहभागिता रहेको परियोजनाले जनाएको छ
कृषकले उत्पादन गरेको बाली खेतबाट भित्र्याएपछि त्यसको सही व्यवस्थापन, सुरक्षित भण्डारण र बजारसम्म गुणस्तरीय रूपमा पु¥याउन सके उत्पादनमा हुने क्षति घट्नुका साथै किसानको आम्दानीसमेत बढाउन सकिने अपेक्षा गरिएको छ ।