६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै, दुई महिनामै १३९ जनामा संक्रमण


बैतडी- बैतडीमा स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै जिल्लामा १३९ जनामा यो संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी तथा तथ्यांक अधिकृत खगेन्द्र कार्कीका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा किशोरकिशोरीदेखि वृद्धवृद्धासम्ममा संक्रमण पुष्टि भएको छ । मेलौली नगरपालिकामा सबैभन्दा बढी ७० जना र पञ्चेश्वर गाउँपालिकामा ३३ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै, पाटन नगरपालिकामा १९ जना, सिगास गाउँपालिकामा ७ जना, पुर्चौंडी नगरपालिकामा ५ जना, सुर्नया गाउँपालिकामा २ जना, दशरथचन्द नगरपालिकामा २ जना र डिलासैनी गाउँपालिकामा एक जनामा संक्रमण देखिएको छ ।

पछिल्ला वर्षहरूको तथ्यांकअनुसार बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । आर्थिक वर्ष २०८१/८२ मा १३६ जना संक्रमित भेटिएकामा गत आर्थिक वर्षमा यो संख्या बढेर ३९४ पुगेको थियो ।

स्क्रब टाइफसका प्रमुख लक्षणमा लगातार उच्च ज्वरो आउनु, टाउको दुख्नु, अत्यधिक पसिना आउनु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु तथा किराले टोकेको ठाउँमा कालो पाप्रोजस्तो घाउ देखिनु रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख जनस्वास्थ्य अधिकृत तीर्थराज भट्टका अनुसार वर्षायाममा यो रोग बढी फैलिने गरेको छ । जिल्लाका सबै स्थानीय तहमा संक्रमित भेटिए पनि केही बिरामी निको भइसकेका छन् भने अन्य बिरामी नजिकका स्वास्थ्य संस्थामा उपचाररत छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका स्वास्थ्य संस्थाहरूमा स्क्रब टाइफसको औषधि पर्याप्त रहेको जनाएको छ ।

ताजा समाचार