काठमाडौँ- अविरल वर्षा र बाढीका कारण देशका विभिन्न स्थानमा रहेका झोलुङ्गे पुलहरूमा क्षति पुगेको छ । बिहीबारदेखि परेको वर्षासँगै आएको बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको भए पनि सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भएको स्थानीय पूर्वाधार विकास विभागले जनाएको छ ।
विभागका उपमहानिर्देशक तथा प्रवक्ता कमलकुमार अधिकारीका अनुसार सुदूरपश्चिमको महाकाली नदी क्षेत्रदेखि गण्डकी प्रदेशको कालीगण्डकी करिडोरसम्मका झोलुङ्गे पुलमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बाढीपहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुनु र जिल्लास्तरमा कार्यालय नहुँदा क्षतिको यकिन विवरण सङ्कलनमा समस्या भइरहेको उनले बताए ।
बाढीले सडक तथा आवागमनका मार्ग बगाएकाले प्राविधिक टोलीलाई प्रभावित स्थानमा पुग्न कठिनाइ भएको अधिकारीले जानकारी दिए । प्रदेशस्तरमा सीमित कार्यालय हुँदा सबै क्षेत्रको वास्तविक अवस्था तत्काल पत्ता लगाउन चुनौती देखिएको उनको भनाइ छ ।
यसैबीच, दोधारा चाँदनी नगरपालिका–४ र भीमदत्त नगरपालिका–१३ जोड्ने १ हजार ४५३ मिटर लामो झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ । पुलका आठवटा पिल्लरमध्ये तेस्रो पिल्लर भाँचिएको जनाइएको छ ।
पुलको दोधारा चाँदनीतर्फको बीच भागमा करिब ५.६ मिटरको खण्ड माथि उठेको र पिल्लरसमेत भत्किएपछि आवागमनमा समस्या भएको छ । पुल क्षतिग्रस्त भएपछि उक्त मार्गबाट हुने आवतजावत अवरुद्ध भएको जनाइएको छ ।