काठमाडौँ –भोटेकोशी बाढी आएको एक महिना पुगेको सन्दर्भमा विपद् प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउन काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ ।
एक्सन एड नेपाल, महिला एकता समाज, मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला प्रतिष्ठान र यूथ एड्भोकेसी नेपाललगायत संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । आयोजकले पत्रकार सम्मेलनमार्फत जलवायु न्यायका लागि ऐक्यबद्धता जनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएका छन् ।
कार्यक्रममार्फत प्रभावित समुदायको अधिकार, सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न तथा जलवायुजन्य विपद्बाट भएको क्षतिलाई सम्बोधन गर्न पर्याप्त अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन माग गरिनेछ । साथै, प्रमुख हरितगृह ग्यास उत्सर्जकहरूले उत्सर्जन घटाउनुपर्ने र जलवायु सङ्कटबाट भएको क्षतिको जिम्मेवारी लिनुपर्ने विषयसमेत उठाइने आयोजकले जनाएको छ ।
जलवायु परिवर्तनबाट प्रभावित महिला, श्रमिक, सीमान्तकृत तथा हिमाली समुदायको आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म पुर्याउने उद्देश्यले एक सातासम्म विभिन्न सचेतनामूलक गतिविधिसमेत सञ्चालन गरिएको जनाइएको छ ।