४ कार्तिक २०८३, मंगलवार Tuesday, October 20, 2026

कैलाश–मानसरोवर यात्राको बुकिङ रद्द, हुम्लाका होटल सुनसान


काठमाडौँ- कैलाश–मानसरोवर तीर्थयात्राका लागि हुम्ला आउने भारतीय पर्यटकले बुकिङ रद्द गरेपछि सिमकोट र हिल्साका होटलमा पर्यटकको चाप घटेको छ। पर्यटक नआएपछि सिमकोटका करिब एक दर्जन र हिल्साका २० वटा होटल प्रभावित भएका छन्।

सिमकोटस्थित होटल विजयका सञ्चालक विजय लामाका अनुसार केही समयअघिसम्म दैनिक ४० देखि ६० जना भारतीय पर्यटकलाई सेवा दिँदै आएको होटलमा अहिले कोठाहरू खाली छन्। पर्यटकको चाप हुँदा दैनिक १ लाख ४० हजारदेखि २ लाख रुपैयाँसम्म कारोबार हुने गरे पनि अहिले कर्मचारीसमेत फुर्सदिला बनेका छन्।

त्यस्तै, होटल पोतलामा सेप्टेम्बर अन्तिमसम्मका लागि बुकिङ गरिएका करिब ४ सय पर्यटकले यात्रा रद्द गरेका छन्। होटल सञ्चालक मीनबहादुर तामाङका अनुसार यसअघि दैनिक करिब ४० जना पर्यटक व्यवस्थापन गर्दा १ लाख रुपैयाँ हाराहारी कारोबार हुने गरेको थियो।

होटल व्यवसायी संघका अध्यक्ष मिम लामाका अनुसार सिमकोटका विभिन्न होटलले भारतीय तीर्थयात्रीलाई लक्षित गर्दै ठूलो लगानी गरेका छन्। होटलहरूले खाना र बाससहित प्रतिव्यक्ति दैनिक ३ हजार ५ सय रुपैयाँको प्याकेजसमेत सञ्चालन गरेका थिए।

भारतीय तीर्थयात्रीले सामान्यतया दुई दिन सिमकोट र एक दिन हिल्सामा बिताउने गरेका थिए। पर्यटकको बुकिङ रद्द हुँदा सेप्टेम्बरमा मात्रै कम्तीमा ४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार प्रभावित भएको व्यवसायीको भनाइ छ।

तीर्थयात्रीको आगमन घट्दा होटल मात्र नभई स्थानीय भरिया, किसान तथा स्थानीय उत्पादनको व्यापारमा समेत असर परेको छ। पर्यटकका लागि मार्सी चामल, फापर, कोदो, स्याउ र ओखरजस्ता स्थानीय उत्पादन प्रयोग तथा बिक्री हुने गरेकामा बुकिङ रद्द भएपछि त्यसको कारोबारसमेत घटेको व्यवसायीले बताएका छन्।

ताजा समाचार