काठमाडौं-मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु भएका गोरखाका विरेन्द्र गुरुङको शव बिहीबार उनको गृहगाउँ केरौंजा ल्याइएको छ।
गोरखाको धार्चे गाउँपालिका–२ केरौंजाका विरेन्द्रको शव काठमाडौंस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि गाउँ ल्याइएको स्थानीय अर्जुन गुरुङले जानकारी दिए। उनका अनुसार विरेन्द्रको अन्त्येष्टि धार्मिक परम्पराअनुसार गर्ने तयारी भइरहेको छ।
उक्त हिमपहिरोमा परी मृत्यु भएका अर्का स्थानीय आशबहादुर गुरुङको शव भने अझै मनाङमै रहेको छ। उनको शव पनि काठमाडौं ल्याउने तयारी भइरहेको अर्जुनले बताए।
विरेन्द्र हिमालयन होलिडेज कम्पनीमा सहयोगीका रूपमा कार्यरत थिए भने आशबहादुर इम्याजिन नेपाल इन्सिडिसन प्रालिमा गाइड तथा कुकको काम गर्थे।