काठमाडौं- मनाङको चामे गाउँपालिका–४ भक्तपुर क्षेत्रमा मर्स्याङ्दी नदीको बाढीले डुबानमा परेका घरबाट सामान निकालेर सुरक्षित स्थानमा सार्न थालिएको छ।
गत शनिबार र आइतबार घट्टेखोलामा आएको बाढीका कारण मर्स्याङ्दी नदीको बहाव अवरुद्ध भएपछि चामेमा ताल बनेको थियो। यसबाट नदीपारिको भक्तपुर क्षेत्रका घरहरू डुबानमा परेका थिए। नदीमा थुप्रिएको गिटी, बालुवा र गेग्रान हटाउने क्रममा बहाव बस्तीपट्टि मोडिएपछि थप जोखिम बढेको थियो।
बाढीका कारण चामे बजार जोड्ने मोटरेबल पुलसमेत डुबानमा पर्दा सुरक्षाकर्मीलाई आवतजावत गर्न कठिनाइ भएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा नदी वारपार गर्न सकिने अवस्था बनेपछि डुबानमा परेका घरका सामान सुरक्षित स्थानमा सार्न थालिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म चामेका डीएसपी मनोज चन्दका अनुसार बुधबारदेखि सामान सार्ने काम सुरु गरिएको हो। बिहीबार बिहानैदेखि टोलीले स्थानीयका खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडालगायत सामग्री सुरक्षित स्थानमा पुर्याइरहेको छ। बाढीका कारण भक्तपुर क्षेत्रका ६ परिवारका ८ देखि ९ वटा घर डुबानमा परेका छन्।
लगातारको वर्षासँगै आएको बाढीपहिरोले सडक, विद्युत् र सञ्चार सेवासमेत प्रभावित बनाएको छ। मर्स्याङ्दी नदीमा थुप्रिएको गेग्रान हटाएर पानीको बहाव सहज बनाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिएका छन्। उक्त कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित छन्।