काठमाडौं- बागलुङको निसीखोला गाउँपालिकामा असोज ११ गते आएको बाढीले घरबास गुमाएका परिवारको पुनःस्थापना चुनौतीपूर्ण बनेको छ। बाढीपहिरोका कारण ३५ घर पूर्ण रूपमा बगेका छन् भने थप २५ घरमा क्षति पुगेपछि बस्न नमिल्ने अवस्था छ।
निसीखोला गाउँपालिका–४ कानाबगरका तुलबहादुर सुनारको घर बाढीले बगाएपछि उनी परिवारसहित जनजिवराज माध्यमिक विद्यालयमा आश्रय लिइरहेका छन्। खानेकुरा, लत्ताकपडा र घरायसी सामान गुमाएका उनको परिवार विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त राहतको भरमा बसिरहेको छ।
विद्यालयमा बस्न कठिनाइ भएपछि वडा कार्यालयले पीडित परिवारलाई आफन्त तथा छिमेकीको घरमा अस्थायी रूपमा राख्ने व्यवस्था मिलाउन थालेको छ। वडाध्यक्ष टिकानिधि पौडेलका अनुसार आफन्तकोमा बस्ने व्यवस्था मिलाएर त्यहीँ राहत उपलब्ध गराउने तयारी भइरहेको छ।
कानाबगरकै दिलकुमारी रेग्मीको परिवार पनि बाढीका कारण घरजग्गा गुमाएर समस्यामा परेको छ। उनीहरूले खानेकुरा र लत्ताकपडाको अभाव झेलिरहेका छन्। गाउँपालिकाले तत्कालका लागि खाद्यान्न तथा बसोबासका सामग्री उपलब्ध गराएको छ भने जिल्ला विपद् व्यवस्थापन समितिले पनि पाल र खाद्यान्न वितरण गरेको छ।
बाढीपहिरोका कारण निसीखोलामा एकै घरका चार जनासहित पाँच जनाको मृत्यु भएको छ। निसी, भलकोट, झिवाखोला, झिम्पा, कानाबगर र जुग्जाखोलालगायतका बस्ती प्रभावित भएका छन्। झिवाखोला बजारका घर बग्नुका साथै लिटिल रोज बोर्डिङ विद्यालयको भवनमा समेत पहिरोले क्षति पुर्याएको छ।
कानाबगरमा असोज ९ गते गएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध गर्नुका साथै निसीखोलाको बहाव परिवर्तन गराएको थियो। त्यसपछि खोला झिवाखोलातर्फ मोडिँदा बस्तीमा ठूलो क्षति पुगेको हो। बाढीले दोस्रो लघु जलविद्युत् आयोजनाको इन्टेक र नहर तथा झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको छ।
सडक अवरुद्ध हुँदा उद्धार तथा राहत सामग्री पुर्याउनसमेत कठिनाइ भएको थियो। अहिले सदरमुकामदेखि झिवाखोलासम्मको सडक खुलाइए पनि माथिल्लो क्षेत्रमा कटान भएको सडक अझै सञ्चालनमा आउन सकेको छैन।
बाढीले निर्माणाधीन निसीखोला आधारभूत अस्पताल आसपासको क्षेत्रसमेत बगरमा परिणत गरेको छ। अस्पतालसम्म पुग्ने बाटो अवरुद्ध भएको छ भने सडक, खानेपानी र अन्य आधारभूत सेवाको पुनःस्थापना पनि चुनौतीपूर्ण बनेको छ। तत्काल घर पुनर्निर्माण गर्न सम्भव नभएकाले पीडितलाई अस्थायी रूपमा आफन्त तथा छिमेकीकोमा राख्ने र राहत उपलब्ध गराउने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ।