सर्मिला रोकाया, बाजुरा
बाजुराको बुढीनन्दा नगरपालिका–१ कोल्टीमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । सामान्य उपचारका लागि समेत सुविधा सम्पन्न अस्पताल पुग्नुपर्ने दुर्गम क्षेत्रका नागरिकको बाध्यतालाई मध्यनजर गर्दै कोल्टीमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।
बुढीनन्दा नगरपालिकाको आयोजना तथा एक एक पाइला फाउन्डेसन र गेटा आँखा अस्पतालको सहयोग तथा समन्वयमा सुरु भएको शिविरको पहिलो दिन ८ सय १५ जना नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा आँखा परीक्षण तथा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया, नाक–कान–घाँटीसम्बन्धी रोगको परीक्षण, उपचार तथा आवश्यक शल्यक्रिया, स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा, दाँतसम्बन्धी उपचार र औषधि वितरणलगायतका सेवा उपलब्ध गरीएको कोल्टी आधारभुत अस्पतालले जनाएको छ ।
आज पहिलो दिन आँखा परीक्षणतर्फ ४ सय २५ जनाले सेवा पाएका अस्पतालका सूचना अधिकारी प्रेम नेपाली जानकारी दिनुभएको छ । जसमा महिला २ सय १५, पुरुष १ सय ७५, बालबालिका ३५ जनाले सेवा पाएका हुन् भने मोतिबिन्दुको शल्यक्रियातर्फ ६१ जनाले सेवा पाएका छन । त्यस्तै नाक–कान–घाँटी सम्बन्धी १ सय ५० जनाले सेवा पाएका छन् त्यसमा ३ जनाले अप्रेसन सेवा पाएका उहाँले बताउनुभयो । स्त्री तथा प्रसूति रोगमा ५२ जना, दन्त उपचार सेवा जम्मा ९० जना तथा फार्मेसी सेवातर्फ ८ सय १५ जनाले सेवा लिएका छन् ।
उहाँका अनुसार शिविर असोज १९ गतेसम्म सञ्चालन हुनेछ । शिविरमा विभिन्न रोगको परीक्षण तथा उपचारसँगै आवश्यक शल्यक्रियासमेत निःशुल्क गरिने अस्पतालले जनाएको छ ।
भौगोलिक रूपमा दुर्गम मानिने बाजुरासहित हुम्ला, मुगु र कालिकोटका नागरिकलाई समेत लक्षित गरिएको शिविरमा कुण्डा क्षेत्रका मात्र नभई बाजुराको अन्य क्षेत्रबाट पनि नागरिक उपचारका लागि आएका छन् ।
उमेरले ८२ वर्षीय स्वामीकार्तिक खापर गाउँपालिका–५ जेराका धनलाल शाहीले शिविरमा आँखाको शल्यक्रिया गराउनुभएको छ । उमेर ढल्किँदै जाँदा आँखाको उपचारका लागि टाढा जानुपर्ने अवस्थाबीच कोल्टीमै निःशुल्क शल्यक्रिया गर्न पाउँदा उहाँ खुसी हुनुहुन्छ ।
त्यस्तै, शिविरमा बाजुराको निर्वाचन क्षेत्र ‘क’ अन्तर्गतका कुण्डा क्षेत्रका नागरिकसँगै निर्वाचन क्षेत्र ‘ख’ बाट समेत सेवाग्राही आएका छन् । गौमुल गाउँपालिका–२ का इश्वरी रोकायाले पनि शिविरमार्फत स्वास्थ्य सेवा लिनुभएको छ ।
स्वामीकार्तिक खापर गाउँपालिका–४ की जयकला महतारा लामो समयदेखि पेटसम्बन्धी समस्या लिएर शिविरमा पुग्नुभएको हो । यसअघि सामान्य उपचार मात्रै गराउँदै आउनुभएकी महताराले शिविरमा थप परीक्षण तथा उपचारको अवसर पाएको बताउनुभएको छ ।
दुर्गम क्षेत्रका नागरिकले सामान्य स्वास्थ्य उपचारका लागि समेत ठूलो रकम खर्च गरेर टाढा जानुपर्ने अवस्थालाई कम गर्न नगरपालिकाले स्थानीय तहमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासलाई प्राथमिकता दिएको जनाएको छ ।
बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहराका अनुसार नगरपालिकाले विगत चार वर्षदेखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । उहाँका अनुसार पहिलो वर्ष ४ हजार ५ सय, दोस्रो वर्ष १ हजार ७ सय र तेस्रो वर्ष ४ हजार २ सय नागरिकले शिविरमार्फत स्वास्थ्य सेवा लिएका थिए ।
यसपटक भने उपचारसँगै शल्यक्रियालाई समेत प्राथमिकतामा राखेर शिविर सञ्चालन गरिएको नगरप्रमुख बोहराले बताउनुभयो । आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई स्थानीय तहमै सेवा उपलब्ध गराउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।
सामान्य उपचारका लागि समेत लाखौँ रुपैयाँ खर्च गरेर सुविधा सम्पन्न ठाउँमा जानुपर्ने र समयमै रोग पहिचान तथा उपचार हुन नसक्दा स्वास्थ्यमा थप जटिलता निम्तिन सक्ने अवस्थालाई यस्ता शिविरले केही हदसम्म कम गर्ने कोल्टी आधारभूत अस्पतालका प्रमुख डा. धनेन्द्र शाहीले बताउनुभयो । उहाँले शिविरमा सेवा लिन आउने नागरिकलाई हतार नगरी चिकित्सकको सल्लाहअनुसार परीक्षण तथा उपचार गराउन आग्रह गर्नुभएको छ ।
डा. शाहीका अनुसार बाजुरासहित हुम्ला, मुगु र कालिकोटका नागरिकले समेत शिविरबाट सेवा लिइरहेका छन् । दुर्गम क्षेत्रका नागरिकका लागि विशेषज्ञ स्वास्थ्य सेवा र आवश्यक शल्यक्रिया स्थानीय तहमै उपलब्ध हुँदा उपचारका लागि टाढा जानुपर्ने बाध्यता केही कम हुने उहाँको भनाइ छ ।
दुर्गम बस्तीका नागरिकका लागि स्वास्थ्य सेवा अझै पनि सहज पहुँचको विषय बन्न नसकेको अवस्थामा कोल्टीमै सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरले आर्थिक अभाव र भौगोलिक कठिनाइका कारण उपचारबाट वञ्चित नागरिकलाई प्रत्यक्ष राहत दिएको छ ।
शिविर असोज १९ गतेसम्म सञ्चालन हुने भएकाले उपचार आवश्यक भएका नागरिकलाई समयमै शिविरमा पुगेर सेवा लिन कोल्टी अस्पतालको आग्रह छ ।