६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

कांग्रेस महाधिवेशनको सुरक्षामा ७ सयभन्दा बढी प्रहरी परिचालन, सीसीटीभीबाट निगरानी गरिने


काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनस्थल तथा आसपासका क्षेत्रमा सीसीटीभीमार्फत निगरानी गरिने र सडक सुरक्षाका लागि ७ सयभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार महाधिवेशनको सुरक्षाका लागि भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा कमान्ड पोस्ट स्थापना गरिएको छ। खुलामञ्चमा उद्घाटन समारोह तथा बन्दसत्र सञ्चालन हुनेछ भने मनोनयन दर्ता र निर्वाचनसम्बन्धी कार्यक्रम राष्ट्रिय सभागृहमा हुनेछन्।

महाधिवेशनसँग सम्बन्धित विभिन्न क्षेत्रमा सीसीटीभी जडान गरी सुरक्षा अवस्थाको निगरानी गर्ने व्यवस्था मिलाइएको घिमिरेले जानकारी दिए। सडकमा प्रहरी परिचालन गर्नुका साथै सादा पोसाकमा समेत सुरक्षाकर्मी खटाइनेछ।

पार्किङका लागि विभिन्न स्थान तोकिए

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा अन्य व्यक्तिका निजी सवारीसाधन पार्किङका लागि धरहराको भूमिगत पार्किङ, पुरानो बसपार्क, भृकुटीमण्डप, राष्ट्रिय सभागृह, प्रज्ञा–प्रतिष्ठान र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसर तोकिएको प्रहरीले जनाएको छ।

उपत्यकाबाहिरबाट प्रतिनिधि लिएर आउने ठूला बसका लागि माइतीघरदेखि भद्रकालीसम्मको सडकको एक लेन प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।

महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन काठमाडौंका विभिन्न स्थानबाट कांग्रेसका प्रतिनिधि तथा शुभेच्छुकहरू खुलामञ्चतर्फ जाने क्रम जारी रहेको पार्टीको प्रचारप्रसार समितिले जनाएको छ।

प्रतिनिधिहरूको बसोबासका लागि गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, बालाजु, नयाँ बसपार्क, सुन्धारा र कलंकीलगायत क्षेत्रका होटलहरूमा व्यवस्था गरिएको छ। खानाका लागि भृकुटीमण्डपमा मेस सञ्चालन गरिए पनि आवासको व्यवस्था भने प्रतिनिधिहरू आफैँले गर्नुपर्नेछ।

कांग्रेसका अनुसार महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। उद्घाटन समारोहपछि सोमबार र मंगलबार बन्दसत्र सञ्चालन हुनेछ भने बुधबार र बिहीबार पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम हुनेछ।

ताजा समाचार