सर्मिला रोकाया, बाजुरा
बाजुराको कोल्टीमा सञ्चालन भइरहेको निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिन आउने नागरिकको चाप बढ्दो छ । शिविरको दोस्रो दिन मात्रै ९ सय ९२ जनाले विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा लिएका छन् ।
सामान्य उपचारका लागि समेत सदरमुकाम मार्तडी वा अन्य सुविधा सम्पन्न अस्पताल पुग्नुपर्ने बाध्यता रहेको दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै बुढीनन्दा नगरपालिका–१ स्थित कोल्टी आधारभूत अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।
शिविरको दोस्रो दिन सेवा लिने ९ सय ९२ जनामध्ये ५ सय ९० जना महिला र ४ सय २ जना पुरुष रहेका छन् । विशेषज्ञ सेवा गाउँमै निःशुल्क उपलब्ध भएपछि बाजुराका विभिन्न ठाउँसँगै छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट र कैलालीबाट समेत नागरिक स्वास्थ्य परीक्षणका लागि कोल्टी पुगेका छन् ।
बुढीनन्दा नगरपालिकाको आयोजना तथा एक एक पाइला फाउन्डेसन र गेटा आँखा अस्पतालको सहयोग तथा समन्वयमा सञ्चालन भइरहेको शिविरमा आँखाको परीक्षण तथा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया, नाक–कान–घाँटीसम्बन्धी परीक्षण तथा उपचार, स्त्री तथा प्रसूति रोगको परीक्षण, दन्त उपचार, औषधि वितरणलगायतका सेवा उपलब्ध गराइएको छ ।
कोल्टी आधारभूत अस्पतालका सूचना अधिकारी प्रेम नेपालीका अनुसार, दोस्रो दिन आँखासम्बन्धी सेवातर्फ ३ सय ७२ जना, मोतिबिन्दुको शल्यक्रियातर्फ ४० जना, नाक–कान–घाँटी सेवातर्फ ३ सय २७ जना, स्त्री तथा प्रसूति रोग सेवातर्फ १ सय २६ जना र दन्त सेवातर्फ १ सय ३१ जनाले सेवा लिएका छन् ।
त्यस्तै, शिविरसँगै कोल्टी आधारभूत अस्पतालबाट नियमित स्वास्थ्य सेवा लिने २८ जना बिरामीले समेत उपचार पाएका छन् । शिविरमा हिजो मोतिबिन्दुको शल्यक्रिया गरेका ६१ जनालाई आँखाको पट्टि खोलेर आज घर पठाइएको छ । परीक्षणपछि आवश्यक देखिएका बिरामीको शल्यक्रियासमेत निःशुल्क गरिरहेको अस्पतालले जनाएको छ ।
दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नहुँदा सामान्य रोगको उपचारका लागि समेत लामो दूरी पार गर्नुपर्ने नागरिकको बाध्यता कम गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । विशेषज्ञ चिकित्सकसहितको टोली कोल्टीमै आएर सेवा दिन थालेपछि स्थानीय नागरिकले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाएका छन् ।
शिविरमा कुण्डा क्षेत्रसँगै तथा बाजुराका अन्य स्थानीय तहबाट समेत उपचारका लागि नागरिकहरू कोल्टी पुगेका छन् । दुर्गममा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको शिविर नागरिकका लागि उपचारसँगै विशेषज्ञ सेवा गाउँमै पुग्न सक्ने सम्भावनाको उदाहरणसमेत बनेको छ ।