सर्मिला रोकाया, बाजुरा
बाजुराको बुढीनन्दा नगरपालिका–७ नौलाकोटमा लिर्वडद्वारा सञ्चालित पोषण शिक्षा तथा पुनस्र्थापना कार्यक्रमको सरोकारवालाले अनुगमन गरेको छ । लिर्वडद्वारा सञ्चालित ‘समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना’ अन्तर्गत सकारात्मक भिन्न व्यवहारमा आधारित पोषण शिक्षा तथा पुनस्र्थापना कार्यक्रमको सरोकारवालाले अनुगमन गरेको हो ।
असोज ५ गतेदेखि सञ्चालनमा रहेको कार्यक्रममा १२ जना बालबालिका तथा आमाहरू सहभागी भएका छन् । कार्यक्रममार्फत पोषणसम्बन्धी व्यवहारिक ज्ञान र अभ्यास गराउँदै बालबालिकाको पोषण अवस्था सुधार गर्ने प्रयास गरिएको छ । हालसम्म तीन जना बालबालिका सुपोषित भएपछि घर फर्किएका छन् भने कार्यक्रम सञ्चालनमा रहेको छ ।
कार्यक्रममा आमाहरूलाई स्तनपानपछि उमेरअनुसार थप खाना खुवाउने तरिका, बालबालिकाको सरसफाइ, स्वास्थ्य परीक्षण, बाल स्याहार तथा स्थानीय रूपमा उपलब्ध खाद्य सामग्रीबाट पोषिलो परिकार तयार गर्ने व्यवहारिक अभ्यास गराइएको परियोजना जिल्ला संयोजक युवराज थापाले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रमको उद्देश्य बच्चाले पेट भ¥यो कि भरेन भन्नेमा मात्र सीमित नभई के खायो, कसरी खायो, कति पटक खायो र कति सफा वातावरणमा खायो भन्ने विषयमा आमाहरूलाई सचेत बनाउनु हो ।
कार्यक्रम अवधिभर आमाहरूलाई जाउलो, लिटो, मौसमी फलफूल, अण्डा, पोषिलो खिर, सुजीको हलुवा तथा स्थानीय रूपमा उपलब्ध अन्य खाद्य सामग्रीबाट विभिन्न परिकार तयार गर्ने तरिका सिकाइएको छ । यस्तै, स्तनपानपछि उमेरअनुसार पूरक आहार सुरु गर्ने, बच्चालाई खाना खुवाउने सही तरिका, खाना तथा पानीको सरसफाइ र बालबालिका बिरामी हुँदा स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्थाबारे समेत व्यवहारिक ज्ञान दिइएको छ ।
बालबालिकाको जीवनका सुरुवाती वर्ष शारीरिक तथा मानसिक विकासका दृष्टिले महत्वपूर्ण मानिन्छन् । यही समयमा पर्याप्त, विविध र पोषिलो खाना नपाउँदा बालबालिकाको वृद्धि, सिकाइ क्षमता र रोगसँग लड्ने क्षमतामा असर पर्न सक्छ । त्यसैले कुपोषण रोकथामका लागि बालबालिकाले जन्मेदेखि नै पर्याप्त स्तनपान, उमेरअनुसार पूरक आहार, सरसफाइ, खोप तथा आवश्यक स्वास्थ्य सेवामा पहुँच पाउनुपर्नेमा कार्यक्रमले जोड दिएको छ ।
कुपोषण भनेको बालबालिका दुब्लो देखिनु मात्रै नभई उमेरअनुसार कम तौल वा उचाइ, अत्यधिक दुब्लोपन, आवश्यक पोषक तत्वको कमी तथा खानपान र स्वास्थ्यसँग सम्बन्धित समस्याहरूको समग्र अवस्था हो । विशेषगरी पाँच वर्षमुनिका बालबालिका कुपोषणको उच्च जोखिममा रहने भएकाले उनीहरूको खानपान, वृद्धि–विकास र स्वास्थ्य अवस्थाको नियमित निगरानी आवश्यक हुन्छ ।
परियोजना संयोजक थापाका अनुसार पोषणसम्बन्धी ज्ञान तालिम वा कक्षाकोठामा मात्र सीमित नभई घरको भान्सादेखि बच्चाको थाली र आमाको दैनिक व्यवहारसम्म पुग्नुपर्ने विषय हो ।
अनुगमनका क्रममा आइएनजीओ फोकल पर्सन विरजन शाहीले आमा र बालबालिकालाई एकै ठाउँमा राखेर स्थानीय रूपमा उत्पादन हुने खाद्य सामग्रीबाट विभिन्न पोषिलो परिकार तयार गरी खुवाउने अभ्यास प्रभावकारी देखिएको बताउनुभयो ।
बालबालिकाको वृद्धि र विकास हुने महत्वपूर्ण समय यही भएकाले अहिले नै उनीहरूको पोषण र स्वास्थ्यमा ध्यान दिन सके भविष्यमा स्वस्थ र सक्षम जनशक्ति निर्माण गर्न सकिने उहाँको भनाइ छ ।
शाहीले कुपोषणको अवस्था घटाउन यस्ता कार्यक्रम केही आमा र बालबालिकामा मात्र सीमित नगरी समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।
यस्तै, बुढीनन्दा नगरपालिकाका जनस्वास्थ्य अधिकृत सदिक्षा रेग्मीले समुदायस्तरमै बालबालिकालाई कुपोषणबाट जोगाउन गरिएका यस्ता प्रयास प्रभावकारी हुने बताउनुभयो ।
जाउलो, लिटो, केराको प्युरीलगायत स्थानीय खाद्य सामग्रीबाट पोषिलो खाना तयार गर्ने तरिका, सरसफाइ तथा स्तनपानसम्बन्धी व्यवहारिक ज्ञानले बालबालिकाको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने उहाँको भनाइ छ ।
रेग्मीले पोषणसम्बन्धी व्यवहारिक अभ्याससँगै निरन्तर सचेतना आवश्यक रहेको बताउँदै नगरपालिकाबाट गर्न सकिने सहयोग तथा समन्वयमा आफूहरू पछि नहट्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बालबालिकालाई कति खाना खुवाउने भन्ने मात्र नभई उनीहरूले खाने खानामा आवश्यक पोषक तत्व पुगेको छ कि छैन, खाना सुरक्षित र सफा छ कि छैन तथा बालबालिकाको वृद्धि र स्वास्थ्य अवस्था कस्तो छ भन्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ ।
बालबालिकामा देखिने कुपोषणको समस्या तत्कालीन खानाको कमी मात्र नभई गरिबी, खाद्य विविधताको अभाव, सरसफाइको कमी, बारम्बार हुने संक्रमण, आमाको पोषण तथा स्वास्थ्यसम्बन्धी ज्ञान र स्वास्थ्य सेवामा पहुँचजस्ता विभिन्न कारणसँग जोडिने भएकाले यसको समाधानका लागि परिवार, समुदाय, स्थानीय सरकार र सरोकारवाला सबैको संयुक्त प्रयास आवश्यक देखिन्छ ।
कार्यक्रमको अनुगमनमा परियोजना जिल्ला संयोजक युवराज थापा, अनुगमन तथा मूल्यांकन अधिकृत मिलन मरासिनी, आइएनजीओ फोकल पर्सन विरजन शाही, बुढीनन्दा नगरपालिकाका जनस्वास्थ्य अधिकृत सदिक्षा रेग्मी, पत्रकार तथा आमा र बालबालिकाको सहभागिता रहेको थियो ।