सुनसरी — संवाद फाउन्डेसन सुनसरीको आयोजनामा जितिया महोत्सव २०८३ दुहबी–१२ स्थित पूर्वकुशाहामा सम्पन्न भएको छ। महिलाको सांस्कृतिक पहिचान, परम्परा र सहभागितालाई केन्द्रमा राख्दै आयोजना गरिएको महोत्सवमा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
महोत्सवमा दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका खतीवडा प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रममा दुहबी–१२ का वडाध्यक्ष रामचन्द्र चौधरीसहित स्थानीय जनप्रतिनिधि, विभिन्न क्षेत्रका अतिथि, महिला, समुदायका सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जितिया पर्वसँग सम्बन्धित परम्परा तथा सांस्कृतिक गतिविधि, सांस्कृतिक प्रस्तुति, महिलाकेन्द्रित अन्तरक्रिया तथा सामुदायिक सहभागिता लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो।
महोत्सवले जितिया पर्वको सांस्कृतिक तथा सामाजिक महत्त्वलाई उजागर गर्नुका साथै मौलिक परम्परा र संस्कृतिको संरक्षणमा योगदान पुर्याएको आयोजकले जनाएको छ। साथै, महिलाहरूलाई सांस्कृतिक तथा सामाजिक गतिविधिमा सक्रिय रूपमा सहभागी गराउँदै उनीहरूको आवाज र सहभागितालाई थप प्रोत्साहन गर्ने उद्देश्यसमेत कार्यक्रमले लिएको थियो।
कार्यक्रममा विभिन्न पुस्ताका समुदाय सदस्यहरूको सहभागिताले मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सहयोग पुगेको संवाद फाउन्डेसन सुनसरीकी संयोजक आरती यादवले बताइन्।
संवाद फाउन्डेसन सुनसरीले संस्कृति संरक्षणसँगै महिला सहभागिता, सामाजिक समावेशिता, सामुदायिक एकता तथा सकारात्मक सामाजिक परिवर्तनका लागि यस्ता समुदायकेन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
