सुनसरी – संवाद फाउन्डेसन सुनसरीले दुहबी–१२ स्थित श्री हिमालय आदर्श माध्यमिक विद्यालयमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ।
‘हरियाली बढाऔँ, वातावरण जोगाऔँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको उद्देश्य विद्यार्थी तथा स्थानीय समुदायमा वातावरणीय जनचेतना अभिवृद्धि, हरियाली प्रवर्द्धन तथा प्रकृति संरक्षणको भावना विकास गर्नु रहेको थियो।
कार्यक्रमअन्तर्गत विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। कार्यक्रममा वातावरण संरक्षण तथा हरित क्षेत्र विस्तारका लागि समुदायको सहभागिताको महत्त्वमा जोड दिइएको थियो।
कार्यक्रममा विद्यालय परिवार, विद्यार्थी, अतिथि तथा सहयोगीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूको सक्रिय सहभागिताले कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।
कार्यक्रमको समन्वय संवाद फाउन्डेसन सुनसरीकी संयोजक आरती यादवले गरेकी थिइन्।
कार्यक्रमले ‘आज एउटा रूख, भोलि हरियाली भविष्य’ भन्ने सन्देश प्रवाह गर्दै वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि व्यक्ति र समुदायलाई सक्रिय हुन प्रेरित गरेको थियो।
संवाद फाउन्डेसन सुनसरीले वृक्षरोपण कार्यक्रममा सहभागी तथा सहयोग गर्ने सम्पूर्ण विद्यालय परिवार, विद्यार्थी, अतिथि र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि वातावरण संरक्षण तथा समुदायकेन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
