७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

दसैँका लागि देशभर रुट परमिट खुला गर्ने सरकारको निर्णय


काठमाडौँ – यातायात व्यवस्था विभागले दसैँलाई लक्षित गर्दै देशभरका सवारीसाधनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको छ।

विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार दसैँको समयमा लामो तथा मध्यम दूरीमा रिजर्भमार्फत सवारीसाधन विभिन्न गन्तव्यमा जाने भएकाले फुलपातीदेखि पूर्णिमासम्म रुट परमिट खुला गरिएको हो।

चाडपर्वका बेला सडकमा सवारी चाप व्यवस्थापन गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न तथा खसीबोका लगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनलाई प्राथमिकता दिइने विभागले जनाएको छ।

यात्रुहरू ठगी तथा कालोबजारीको मारमा नपरून् र भाडादरमा पारदर्शिता कायम होस् भन्ने उद्देश्यले प्रमुख नाका तथा बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरिने महानिर्देशक पोखरेलले बताए।

उनका अनुसार काठमाडौंका प्रमुख बसपार्कसँगै नागढुंगा, कोटेश्वर लगायतका नाकामा पनि दसैँ अवधिभर यात्रु सहायता कक्ष स्थापना गरिनेछ।

ताजा समाचार