काठमाडौँ- बाढीले क्षति पुर्याएको डेढगाउँस्थित कालीगण्डकी पुलको नवलपुरतर्फको सडक पुनर्निर्माण सम्पन्न भए पनि तनहुँतर्फ काम सुरु नहुँदा यातायात सञ्चालनमा समस्या भएको छ।
नवलपुर र तनहुँको सीमामा रहेको पुलको दुवैतर्फको एप्रोच रोड बाढीले बगाएको करिब १० दिन भइसकेको छ। पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकातर्फको क्षतिग्रस्त सडक स्थानीयको श्रमदान र पालिकाको जेसीबी प्रयोग गरेर निर्माण सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले जानकारी दिए।
उनका अनुसार स्थानीयको सहयोगमा साढे दुई दिनमै आफ्नोतर्फको सडक निर्माण सकिएको हो। तर तनहुँतर्फको सडकखण्डमा अझै निर्माण सुरु नभएकाले यात्रुहरूले सास्ती खेप्नुपरेको छ। दसैँ लगायतका चाडपर्व नजिकिँदै जाँदा आवतजावतमा थप समस्या हुने उनको भनाइ छ।
सडक कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठले तनहुँतर्फ बाढीले क्षति पुर्याएको सडक पुनर्निर्माणका लागि आवश्यक बजेट माग गर्दै सडक विभागमा पत्राचार गरिएको बताए। बजेट स्वीकृत भएर आएपछि मात्र निर्माण कार्य अघि बढाउन सकिने उनले जानकारी दिए।
करिब १२ वर्षअघि निर्माण गरिएको डेढगाउँको फलामे पुलको दुवैतर्फको एप्रोच रोड बाढीले बगाएपछि उक्त मार्ग भएर आवतजावत गर्ने यात्रु प्रभावित भएका छन्। गैंडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी सडकनजिक रहेको यो पुल हुँदै पोखरा, गैंडाकोट र रामपुरतर्फ दैनिक सयौँ यात्रु आवतजावत गर्ने गरेका छन्।