काठमाडौँ — पूर्वाधार विकासमन्त्री सुनील लम्सालले रसुवाका बाढी प्रभावित नागरिकलाई दसैँअघि नै सुरक्षित स्थानमा पुनःस्थापना गर्ने गरी सरकारले काम अघि बढाइरहेको बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री लम्सालले स्थानीय तहसँग समन्वय गरी प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक जग्गा पहिचान भइरहेको जानकारी दिए।
प्रभावित नागरिकलाई चाडपर्वअघि नै सुरक्षित स्थानमा पुनःस्थापित गरी दसैँको वातावरण सहज बनाउने सरकारको लक्ष्य रहेको उनले बताए। स्थानीय तह, विपद् व्यवस्थापन प्राधिकरण तथा सरकारबाट उपलब्ध हुने राहत र क्षतिपूर्तिको समीक्षा गरी समयमै वितरण गर्ने तयारी भइरहेको उनको भनाइ छ।
मन्त्री लम्सालका अनुसार बेली ब्रिज उपलब्ध भए पनि त्रिशूली नदीमा जडान गर्न कम्तीमा १०० देखि १२२ मिटर लामो संरचना आवश्यक पर्ने भएकाले तत्काल समस्या देखिएको हो। विश्वका विभिन्न बेली ब्रिज उत्पादक कम्पनीसँग समन्वय गर्दा पनि हवाईमार्गबाट तत्काल ल्याउन सकिने आवश्यक आकारको ब्रिज स्टकमा नभेटिएपछि नयाँ अर्डर गरिएको उनले बताए।
उनले बाढीले क्षति पुर्याएको स्थानमै पुरानै संरचनामा राजमार्ग पुनर्निर्माण नगरी सुरक्षित नयाँ अलाइनमेन्ट र फरक डिजाइनमा सडक निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए।
बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले रसुवामा बाढीबाट करिब २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको क्षति भएको विवरण प्रस्तुत गरे। क्षतिग्रस्त २० वटा झोलुङ्गे पुलमध्ये १२ वटाको मर्मत सम्पन्न भइसकेको र बाँकी ८ वटाको मर्मत प्रक्रिया अघि बढेको उनले बताए।
नुवाकोटको ढुङ्गे–बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याइसकिएको छ। नुवाकोट र रसुवाबीच यातायात सम्पर्क जोड्न बेत्रावतीमा बेली ब्रिज निर्माण भइरहेको र आगामी सोमबारसम्म सञ्चालनमा ल्याएर धुन्चेसम्मको पहुँच जोड्ने लक्ष्य रहेको सचिव मैनालीले जानकारी दिए।
यता, रसुवागढी सडकका विभिन्न स्थानमा चारदेखि पाँचवटासम्म बेली ब्रिज निर्माण गर्नुपर्ने भएकाले दसैँअघि उक्त सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन रहेको उनले बताए। बेत्रावती–मेलुङ–स्याफ्रुबेँसीको पुरानो मार्गको विकल्पमा नयाँ बाटोमार्फत सडक सम्पर्क विस्तार गर्ने काम भइरहेको पनि उनले जानकारी दिए।