काठमाडौँ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न इच्छुक साझेदार संघसंस्थासँग प्रस्ताव माग गरेको छ।
प्राधिकरणले सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित स्थानीय तहमा रहेका परिवारका लागि सहरी विकास तथा भवन निर्माण विभागले स्वीकृत गरेको मापदण्डअनुसार ‘ट्रान्जिसनल सेल्टर’ निर्माण गर्न इच्छुक संघसंस्थालाई प्रस्ताव पेस गर्न आग्रह गरेको हो।
प्रस्तावमा सम्बन्धित संस्थाले निर्माण गर्न चाहेको अस्थायी आवासको संख्या, निर्माणस्थल र सम्बन्धित स्थानीय तहको नाम स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, आवास निर्माण सुरु गर्ने अनुमानित मिति, सम्पन्न गर्ने समयसीमा र त्यसअनुसारको कार्ययोजना पनि प्रस्तावमा समावेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
भदौ १० गतेको भोटेकोशी बाढी तथा अन्य मनसुनजन्य विपद्बाट ठूलो मानवीय क्षति भएको छ। हालसम्म ५ हजार २८५ जना बेपत्ता रहेको तथा प्रभावित क्षेत्रबाट १ हजार ४५४ वटा शव तथा मानव अवशेष फेला परेको विवरण सार्वजनिक गरिएको छ।