६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ निक्षेप तान्दै


काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकले एक महिनाका लागि बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम निक्षेपका रूपमा तान्न लागेको हो। यसका लागि बुधबार दिउँसो ३ बजे बोलकबोल हुनेछ। बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू सहभागी हुन सक्नेछन्।

सहभागी संस्थाले आफूले स्वीकार गर्ने ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। बैंकहरूले विभिन्न ब्याजदरमा बहुबोलकबोल गर्न सक्नेछन् भने कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ।

बैंकिङ प्रणालीमा अतिरिक्त तरलता बढ्दै गएपछि राष्ट्र बैंकले पछिल्लो समय पटक–पटक निक्षेप संकलन उपकरणमार्फत रकम तान्दै आएको छ। यसै क्रममा एकैपटक ३० अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो।

बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आह्वान गरिएको कुल रकमको सीमासम्म प्रस्ताव गर्न सक्नेछन्। राष्ट्र बैंकमा राखिएको यस्तो निक्षेपलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था छ।

राष्ट्र बैंकले २८ दिनपछि अर्थात् आगामी कात्तिक १८ गते निक्षेपको साँवा र ब्याज भुक्तानी गर्नेछ।

कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा ठूलो रकम थुप्रिएको छ। हाल बैंकिङ प्रणालीमा करिब ८४ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा कर्जा प्रवाह करिब ६० खर्ब ६१ अर्ब रुपैयाँ रहेको छ।

सीडी रेसियोको सीमाअनुसार बैंकहरूसँग थप करिब साढे १६ खर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सक्ने क्षमता भए पनि कर्जाको माग पर्याप्त नबढ्दा अतिरिक्त रकम बैंकिङ प्रणालीमै थुप्रिएको छ। यही अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन गर्दै आएको हो।

ताजा समाचार